काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनामा लागनी गर्न निजी क्षेत्र तयार रहेको बताएका छन् ।
धादिङ उद्योग वाणिज्य संघले आयोजना गरेको १०औँ धादिङ महोत्सवमा अध्यक्ष ढकालले आयोजनाको निर्माणमा स्रोत जुटाउन निजी क्षेत्र तयार रहेको बताएका हुन् । उनले लामो समयदेखि चर्चामा रहेको १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलाशाययुक्त जलविद्युत् आयोजना निर्माणको कार्य तत्काल अगाडि बढाउनुपर्ने बताए । नेपालभरका उद्यमी, व्यवसायी तथा लगानीकर्ताको लगानीमा नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी) कम्पनी स्थापना गरिएको र यस आयोजनामा स्रोतको कमी भएको भए निजी क्षेत्रको तर्फबाट यस कम्पनीमार्फत लगानी गर्न आफूहरू तयार रहेको उनको भनाइ छ । नेपालमा जलविद्युत् विकासको अपार सम्भावना रहेको बताउँदै अध्यक्ष ढकालले जलविद्युत्को विकाससँगै यहाँका खनिज, कृषि उत्पादन तथा अन्य व्यवसायको सम्भावनालाई पनि थप उजागर गर्न सहयोग पुग्ने बताए । अध्यक्ष ढकालले धादिङ जिल्लामा रहेका कुनै पनि सम्भावनाका क्षेत्रहरू जस्तैः खनिज, कृषि तथा अन्य कुनै पनि उद्यम, व्यवसायमा लगानी गर्न एनडीपी तयार रहेको समेत उल्लेख गरे । निजी क्षेत्रले कुनै पनि आयोजना तोकिएको समयमा, तोकिएको गुणस्तर र तोकिएकै बजेट÷स्रोतमा सम्पन्न गर्ने गरेको उनको दाबी छ ।
यस्तै उनले जेन–जी आन्दोलनमा क्षतिग्रस्त संरचनाहरू समेत पुनर्निमाण गरेर सञ्चालनमा ल्याएको जानकारी दिए । उनले भने, ‘गत भदौको जेन–जी आन्दोलनका क्रममा निजी क्षेत्रका धेरै उद्योग, कलकारखाना, होटल तथा व्यावसायिक प्रतिष्ठानमा आगजनी र क्षति भएको अवस्था थियो । तर, निजी क्षेत्रका धेरैजसोले अहिले ती व्यवसाय मर्मत, सम्भार र पुनःनिर्माण गर्दै सञ्चालनमा ल्याइसकेका छौँ । निजी क्षेत्र कुनै पनि आयोजना तोकिएका समयमा, तोकिएको गुणस्तर र तोकिएकै बजेट÷स्रोतमा सम्पन्न गर्ने गरेका छौँ ।’ निजी क्षेत्रमाथि भएका धरपकड र निजी व्यवसायमाथि गरिएको प्रहारले निजी क्षेत्र भयभित भएको उनले बताए । ‘निजी क्षेत्रले उत्पादन गरेको छ । पूर्वाधार निर्माण गरेको छ । सेवा दिएको छ । रोजगारी सृजना गरेको छ । राजस्व तिरेको छ । तर, यो निजीक्षेत्र किन सधैँ उपक्षित भएको छ ?’ उनले प्रश्न गरे ।