काठमाडौं । अग्नि इन्कर्पोरेटेड प्राइभेट लिमिटेडले वीरगञ्ज तथा आसपासका क्षेत्रीय बजारलाई लक्षित गर्दै महिन्द्राका अत्याधुनिक इलेक्ट्रिक ओरिजिन एसयुभी— बीई–६ र एक्सइभी–९ई सार्वजनिक गरेको छ ।
वीरगञ्जमा आयोजित भव्य सार्वजनिकीकरण समारोहमार्फत यी विद्युतीय एसयुभीहरू औपचारिकरूपमा सार्वजनिक गरिएका हुन् । कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरी गौतम, अग्नि ग्रुपका उपाध्यक्ष वेदा सताशा श्रेष्ठ, रिसर्च एन्ड बिजनेस डेभलपमेन्ट हेड वेदान्त श्रेष्ठ, महिन्द्रा एन्ड महिन्द्राका नेपाल, भुटान तथा बंगलादेशका लागि कन्ट्री हेड चैतन्य कागलकार, ग्राहकवर्ग तथा कम्पनीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । यी एसयूभीहरू महिन्द्राको अत्याधुनिक इङ्गलो इलेक्ट्रिक ओरिजिन प्लेटफर्ममा आधारित छन् भने संसारकै सबैभन्दा इन्टेलिजेन्ट अटोमोटिभ आर्किटेक्चर मानिने एमएआइए (महिन्द्रा आर्टिफिसियल इन्टेलिजेन्स आर्किटेक्चर)बाट सञ्चालन हुनेछन् । यस सार्वजनिकीकरणले नेपालमा विद्युतीय सवारीसाधनको क्षेत्रीय विस्तारमा नयाँ चरणको सुरुवात गरेको कम्पनीको दाबी छ ।
महिन्द्रा बीई–६ र एक्सइभी–९ ई लाई पहिलो पटक सन् २०२५ को अगस्टमा आयोजित नाइमा नेपाल मोबिलिटी एक्स्पोमार्फत नेपाली बजारमा सार्वजनिक गरिएको थियो । त्यसयता यी मोडेलहरूले नेपाली उपभोक्तामाझ सकारात्मक प्रतिक्रिया पाउँदै आएका छन् । प्रदर्शन क्षमता, इन्टेलिजेन्स, डिजाइन र दिगोपनलाई एकसाथ समेटेका यी बर्न इलेक्ट्रिक भेहिकल्सलाई बजारले उत्साहपूर्वक स्वीकार गरेको कम्पनीको दाबी छ । यसैबीच, महिन्द्रा एक्सइभी–९ई ले हालै इन्डियन कार अफ द इयर २०२६ अन्तर्गत ग्रिन कार अफ द इयर २०२६ अवार्ड प्राप्त गरेको छ । यो अवार्डले यसको अत्याधुनिक विद्युतीय प्रविधि, दिगो डिजाइन र उत्कृष्ट परफर्मेन्सलाई प्रमाणित गरेको बताइएको छ ।
कम्पनीले महिन्द्राको ‘बर्न इलेक्ट्रिक’ लाइन–अपलाई देशका विभिन्न क्षेत्रीय सहरहरूमा विस्तार गर्ने योजना बनाएको छ । कम्पनीका अनुसार हेटौँडा र चितवनपछि वीरगञ्जमा गरिएको यो सार्वजनिकीकरण सोही रणनीतिको हिस्सा हो । कम्पनीका अनुसार आगामी दिनमा भैरहवा, इटहरीलगायतका सहरहरूमा पनि यी मोडेल सार्वजनिक गरिने जनाएकोे छ । कम्पनीका अनुसार नेपालका लागि इलेक्ट्रिक मोबिलिटीमा रूपान्तरण हुनु दिगो विकास र ऊर्जा आत्मनिर्भरताको दिशामा महत्वपूर्ण कदम हो । क्षेत्रीय सहरहरूमा विद्युतीय गाडीहरूको उपलब्धताले दीर्घकालीन आर्थिक तथा वातावरणीय लाभ सिर्जना गर्नेछ । कम्पनीका अनुसार बीई–६ को मूल्य ५७ लाख रुपैयाँदेखि सुरु हुन्छ भने यो प्याक वन अबोभ, प्याक टु र प्याक थ्री सेलेक्ट भेरियन्टमा उपलब्ध छ । त्यसैगरी, एक्सइभी–९ ई को मूल्य ६९ लाख रुपैयाँदेखि सुरु हुन्छ । यो प्याक टु, प्याक थ्री सेलेक्ट तथा प्याक थ्री भेरियन्टमा उपलब्ध छ । दुवै मोडेलका लागि बुकिङ खुला भइसकेको कम्पनीले जनाएको छ ।