ब्रसेल्स । युरोपेली संघ (ईयू)ले सोमबार एलन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल एक्सविरुद्ध औपचारिक अनुसन्धान सुरु गरेको छ । एएफपीका अनुसार यो अनुसन्धान एक्समा प्रयोग हुँदै आएको एआई च्याटबट ग्रोकले महिला तथा नाबालिगहरूको यौनिक डीपफेक तस्बिरहरू सिर्जना गर्न सक्ने विषयसँग सम्बन्धित रहेको बताइएको छ । अन्तर्राष्ट्रिय स्तरमै आलोचना र चासो बढिरहेको अवस्थामा यो कदम चालिएको हो ।
प्रयोगकर्ताहरूले ‘उनलाई बिकिनीमा राख्नुहोस्’ वा ‘उनको लुगा हटाउनुहोस्’ जस्ता साधारण टेक्स्ट निर्देशनहरू प्रयोग गरेर महिला र बालबालिकाको तस्बिरलाई यौनिकरूपमा रूपान्तरण गर्नसक्ने तथ्य सार्वजनिक भएपछि ग्रोक तीव्र आलोचनाको घेरामा परेको थियो । यसले डिजिटल सुरक्षासम्बन्धी गम्भीर चिन्ता उत्पन्न गरेको छ । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले यस विषयमा कडा धारणा राखेकी छिन् । उनले भनेकी छिन्, ‘युरोपमा हामी महिला र बालबालिकाको डिजिटल रूपमा अपमान गर्ने यस्ता अकल्पनीय व्यवहारलाई सहन सक्दैनौँ । यो विषय अत्यन्त सरल छ—प्रविधि कम्पनीहरूलाई सहमति र बाल संरक्षणका आधारभूत सिद्धान्त उल्लंघन गर्न र त्यसबाट मुनाफा कमाउन अनुमति दिइँदैन । अवैध तस्बिरहरूले निम्त्याउने क्षति वास्तविक र गम्भीर छ ।’
ईयूका प्रविधि आयुक्त हेना विर्कुनेनले डिजिटल सर्भिस एक्ट (डिएसए) अन्तर्गत एक्सले आफ्नो कानूनी दायित्व पूरा गरेको छ कि छैन भन्ने कुरा यो अनुसन्धानले स्पष्ट गर्ने बताएकी छिन् । उनका अनुसार ईयूमा महिला र बालबालिकाको अधिकार एक्सका सेवाहरूको ‘साइड इफेक्टको (अप्रत्यक्ष) क्षति’ बन्नु हुँदैन ।