इस्लामावाद । बंगलादेश र पाकिस्तानबीच लामो समयदेखि असहज रहेको सम्बन्ध न्यानो भएपछि एक दशकभन्दा बढी समयपछि बिहीबारदेखि दुई देशबीचको सीधा उडान पुनः सुरु भएको छ ।
भौगोलिकरूपमा १,५०० किलोमिटर (९३० माइल) भारतीय भू–भागले विभाजित बंगलादेश र पाकिस्तान कुनै समय एउटै राष्ट्र थिए । सन् १९७१ मा भएको युद्धपछि उनीहरू विभाजित भएका थिए । एएफपीका अनुसार सन् २०१२ देखि बंगलादेश र पाकिस्तानका यात्रुहरूले दुबई र दोहाजस्ता खाडीका विमानस्थल हुँदै उडानहरू भर्नुपरेको थियो ।
राष्ट्रिय ध्वजाबाहक विमान बंगलादेश एयरलाइन्सले बिहीबार पाकिस्तानी सहर कराँचीका लागि उडान भरेको छ, जुन २०१२ पछि पहिलो नियमित उडान हो । कराँची जाने १५० यात्रुमध्ये एक मोहम्मद शाहिदले हरेक दुई वा तीन वर्षमा एक पटक मात्र यात्रा गर्ने गरेकोमा अब आफू पहिलेको तुलनामा धेरै पटक स्वदेशको यात्रा गर्न पाउँदा खुसी भएको बताए । ‘हामी यस्तो अवसरको पर्खाइमा थियौँ किनभने हामी निरन्तर यात्रा गरिरहेका थियौँ’, ढाकामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘पाकिस्तानमा धेरै मानिसहरू यहाँ आउनका लागि पर्खिरहेका छन्, र केही पाकिस्तान जानका लागि पर्खिरहेका छन् ।’
अब सातामा दुई पटक सिधा उडान हुने भएको छ । विमान कम्पनीले एक विज्ञप्तिमा सिधा उडानको पुनः स्थापनाले ‘व्यापार र वाणिज्यलाई बढावा दिन, शैक्षिक आदानप्रदानलाई विस्तार गर्न र दुई देशहरू बीचको सांस्कृतिक सम्बन्धलाई बढावा दिन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेको छ ।
सन् २०२४ मा बंगलादेशमा विद्यार्थीहरूको नेतृत्वमा भएको विद्रोहले शेख हसिनाको १५ वर्षे निरंकुश शासन अन्त्य गरेपछि मुस्लिम बहुल राष्ट्र पाकिस्तानसँगको सम्बन्ध न्यानो भएको छ । यही अवधिमा बंगलादेश र हसिनाको पुरानो सहयोगी भारतबीचको सम्बन्ध चिसिएको छ । नोभेम्बर २०२४ मा कराँचीबाट बंगलादेशको प्रमुख बन्दरगाह चटगाउँका लागि मालबाहक पानीजहाजहरू पुनः सञ्चलनमा आएका थिए ।
त्यसबेलादेखि दुई मुलुकबचिको व्यापार बढेको छ र सांस्कृतिक सम्बन्ध बढेको छ, लोकप्रिय पाकिस्तानी गायकहरूले ढाकामा प्रदर्शन गरेका छन् भने बंगलादेशी बिरामीहरू चिकित्सा हेरचाहको लागि पाकिस्तान गएका छन् ।