काठमाडौं, नेपाल आयल निगमले डिजेल÷मट्टीतेको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले शनिबार मध्यरातदेखि लागू हुनेगरी डिजेल÷मट्टीतेलमा प्रतिलिटर तीन रुपैयाँ बढाएको हो ।मूल्य समायोजनसँगै डिजेल÷मट्टीतेल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ३६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १३८ रुपैयाँ र तेस्रो वर्गका लागि एक सय ३९ रुपैयाँ कायम भएको छ ।निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोलाई पहिलो वर्ग, सुर्खेत र दाङ डिपोलाई दोस्रो वर्ग र काठमाडौं, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ । निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि उक्त खुद्रा बिक्री मूल्य लागू हुनेछ । निगमले हवाई इन्धन (आन्तरिक र अन्तर्राष्ट्रियतर्फ)को मूल्य भने घटाएको छ । आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर एक रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंमा प्रतिकिलोलिटर अमेरिकी डलर सात घटाइएको छ । मूल्य घटेसँगै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर एक सय २७ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी नौ सय ६६ पुगेको छ । इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर शून्य दशमलव १२ पैसा, डिजेल÷मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँ ६६ पैसा तथा एलपी ग्यासमा प्रतिसिलिन्डर ४५ रुपैयाँ ४९ पैसा बढेर आएको तथा हवाई इन्धनमा प्रतिलिटर एक रुपैयाँ ०८ पैसा घटेर आएकाले खुद्रा बिक्री मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।