काठमाडौं । विकास बैंकहरूको खुद मुनाफा बढेको छ । १७ मध्ये १५ विकास बैंकहरूले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार तीन अर्ब ४४ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा देखिएको हो । यी बैंकहरूमा निष्क्रिय कर्जा भने शून्य दशमलव ४४ देखि ५७ दशमलव ४८ प्रतिशतसम्म देखिएको छ । विकास बैंकहरूले कमाएको नाफा गत आवको सोही अवधिको तुलनामा ३५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा विकास बैंकहरूले कुल दुई अर्ब ५५ करोड रुपैयाँ खुद मुनाफा गरेका थिए । गत वर्ष सोही अवधिमा विकास बैंकहरूमा तीन दशमलव ९८ देखि ४३ दशमलव ६९ प्रतिशतसम्म कर्जा निष्क्रिय देखिएको थियो । अपरिष्कृत वित्तीय विवरणअनुसार क्षेत्रीयस्तरको सिन्धु, नारायणी र केही समयअघि मात्र साधारण सेयर जारी गरेको सालपा विकास बैंकले खुद नोक्सानी व्यहोरेको भए पनि बाँकी विकास बैंकहरूको नाफा सन्तोषजनक छ । चालू आवको दोस्रो त्रैमासमा सबैभन्दा बढी नाफा मुक्तिनाथले कमाउँदा गरिमा दोस्रो स्थानमा परेको छ । यी बैंकहरूले क्रमशः ६७ करोड २० लाख ४० हजार र ६३ करोड ५१ लाख ३० हजार रुपैयाँ खुद मुुनाफा कमाउँदा क्रमश ः तीन दशमलव ७५ र चार दशमलव ७८ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी बैंकहरूले क्रमशः ५० करोड ३१ लाख २२ हजार र ५४ करोड ९२ लाख ६६ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा क्रमशः तीन दशमलव ९८ र चार दशमलव ७२ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । त्यसैगरी शाइन रेसुंगा, कामना सेवा र ज्योति विकास बैंकले पनि चालू आवको दोस्रो त्रैमासमा क्रमशः ४० करोड ४२ लाख ८० हजार, ३९ करोड ४५ लाख ५० हजार र ३१ करोड १२ लाख ७१ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा क्रमशः चार दशमलव ७५, चार दशमलव १० र सात दशमलव ८२ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी बैंकहरूले क्रमशः ३३ करोड आठ लाख ५६ हजार, ३२ करोड २४ लाख ९३ हजार र २५ करोड एक लाख ३१ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा क्रमशः चार दशमलव ४०, चार दशमलव ३५ र चार दशमलव ९८ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । चालू आवको दोस्रो त्रैमासिक अवधिमा महालक्ष्मी, साँग्रिला र लुम्बिनी विकास बैंकले भने क्रमशः ३० करोड ५९ लाख ३१ हजार, ३० करोड २५ लाख ९७ हजार र २८ करोड ५३ लाख ७७ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा क्रमशः छ दशमलव १०, छ दशमलव ८७ र छ दशमलव ७८ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी बैंकहरूले क्रमशः २८ करोड ७४ लाख ९९ हजार, १९ करोड ६५ लाख ६१ हजार र १४ करोड ७६ लाख १८ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा क्रमशः चार दशमलव ९३, चार दशमलव ९९ र चार दशमलव ६८ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।यता, मितेरी, सप्तकोशी, कर्पोरेट र ग्रीन डेभलपमेन्ट बैंकले भने चालू आवको दोस्रो त्रैमासमा क्रमशः पाँच करोड ७० लाख पाँच हजार, दुई करोड ६८ लाख २० हजार, एक करोड ४९ लाख ४२ हजार र एक करोड १० लाख दुई हजार रुपैयाँ खुद मुनाफा कमाउँदा क्रमशः शून्य दशमलव ४४, आठ दशमलव २९, नौ दशमलव ७९ र चार दशमलव २० प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा मितेरी डेभलपमेन्ट बैंकले दुई करोड ५८ लाख ८१ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा सप्तकोशी डेभलपमेन्ट बैंकले दुई करोड ९९ लाख १७ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको थियो भने कर्पोेरेट र ग्रीनले क्रमशः एक करोड सात लाख ३९ हजार र ८७ लाख २९ हजार रुपैयाँ खुद मुनाफा कमाएका थिए । गत आवको दोस्रो त्रैमासमा यी चारवटा बैंकहरूमा क्रमशः एक दशमलव ७४, ११ दशमलव ४२, सात दशमलव ५३ र चार दशमलव ८८ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । यो अवधिमा क्षेत्रियस्तरका नारायणी, सिन्धु र सालपा विकास बैंकले भने क्रमशः चार करोड ७३ लाख ४७ हजार, एक करोड ५४ लाख ६८ हजार र एक करोड चार लाख एक हजार रुपैयाँ खुद नोक्सानी बेहोर्दा क्रमशः ५७ दशमलव ४८, छ दशमलव ३९ र चार दशमलव ९२ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा नारायणीले ५२ लाख १३ हजार रुपैयाँ खुद नोक्सानी व्यहोर्दा सिन्धुले चार करोड ८७ लाख चार हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो भने सालपाले १३ लाख ९२ हजार रुपैयाँ खुद नोक्सानी व्योहोरेको थियो । उक्त अवधिमा यी बैंकहरूमा क्रमशः ४३ दशमलव ६९, नौ दशमलव शून्य छ र पाँच दशमलव ७१ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।