दोलखाको धार्मिक तथा पर्यटकीय स्थल जिरीबाट नजिकै रहेको ताँबेडाँडा पछिल्लो समय पर्यटकीय गन्तव्यको रूपमा स्थापित हुँदै गएको छ ।जिरीबाट करिब दुई घन्टामै ताँबेडाँडा पुग्न सकिने भएपछि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण ताँबेडाँडामा दिनप्रतिदिन बढ्दै गएको हो । रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका र गोकुलगंगा गाउँपालिकाको संगम स्थलमा अवस्थित ताँबेडाँडामा पछिल्लो समय जिरी हुँदै पुग्ने पर्यटकको संख्या उल्लेख्य रूपमा वृद्धि भएको जिरी निवासी तथा पर्यटन प्रवद्र्धनमा सक्रिय लिलाराम खड्काले बताए । उनका अनुसार जिरी भ्रमणमा आउने अधिकांश पर्यटकले अब ताँबेडाँडालाई अनिवार्य गन्तव्यका रूपमा समेट्न थालेका छन् । जिरी बजारबाट छोटो यात्रामा ताँबेडाँडा पुग्न सकिने भएकाले दोलखाको सदरमुकाम चरिकोट हुँदै जिरी आउने पर्यटकले त्यहाँ पुगेपछि ताँबेडाँडाको यात्रा तय गर्ने गरेको खड्काले बताए । पछिल्ला दिनहरूमा रामेछापको मन्थली हुँदै आउनेभन्दा काठमाडौँ–जिरी हुँदै ताँबेडाँडा पुग्ने पर्यटकको संख्या बढ्दै गएको खड्काले जानकारी दिए ।
जिरीका स्थानीय सवारी चालक इन्द्रबहादुर जिरेलका अनुसार जिरी रुट हुँदै ताँबेडाँडा पुग्ने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ । ‘मन्थली हुँदै पुग्दा लामो समय लाग्छ, तर जिरीबाट अहिले सडकको अवस्था कमजोर भए पनि करिब दुई घन्टा लाग्छ । मोटरसाइकलमा भने डेढ घन्टामै पुग्न सकिन्छ,’ उनले भने । हाल सडक निर्माण कार्य भइरहेको र आगामी एक वर्षभित्र स्तरोन्नति सम्पन्न भएपछि जिरीबाट ताँबेडाँडा एक घन्टामै पुग्न सकिने उनले बताए । जिरी नगरपालिकाको लिंकन बजारदेखि ताँबेडाँडासम्मको दूरी करिब ३० किलोमिटर रहेको छ । समुद्री सतहबाट करिब तीन हजार दुई सयदेखि तीन हजार तीन सय मिटर उचाइमा अवस्थित ताँबेडाँडाबाट दोलखाको सदरमुकाम चरिकोट, गौरीशंकर हिमाल, चेर्दोङ, हनुमन्तेडाँडा, शैलुङ, कालिञ्चोक लगायत दर्जनौँ हिमशृङ्खलाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।
त्यसैगरी सिन्धुपाल्चोक, सोलुखुम्बु, रामेछाप र दोलखाका हिमाली भू–दृश्य, गाउँबस्ती, आलु खेती र हरियालीले ताँबेडाँडाको सौन्दर्य थप आकर्षक बनाएको छ । यहाँ निर्माण गरिएका पर्यटकीय तथा धार्मिक संरचनाले पनि पर्यटकलाई लोभ्याउने गरेको छ । हरेक वर्ष वैशाख १ गते ताँबेडाँडामा हजारौँ आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गर्दछ । चैत–वैशाख महिनामा आसपासका वनजंगल लालीगुराँस र चिमालले ढकमक्क फुल्ने भएकाले यो समय ताँबेडाँडा भ्रमणका लागि सबैभन्दा उपयुक्त मानिन्छ । छोटो यात्रा, मनमोहक हिमाली दृश्य र प्राकृतिक सौन्दर्यका कारण ताँबेडाँडा अहिले जिरीपछि दोस्रो प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ ।