नेपाल सरकारले इरानमा विकसित पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै त्यहाँ रहेका नेपाली नागरिकलाई सकेसम्म चाँडो स्वदेश फर्किन आग्रह गरेको छ। अमेरिका र इरानबीच बढ्दो तनावका कारण परराष्ट्र मन्त्रालयले ट्राभल एड्भाइजरी जारी गर्दै यस्तो सल्लाह दिएको हो।
मन्त्रालयद्वारा जारी सूचनामा हालको अवस्था सामान्य नभएसम्म इरान भ्रमणको योजना स्थगित गर्न अनुरोध गरिएको छ। साथै इरानमा रहेका नेपाली नागरिकलाई आफ्नो सुरक्षा प्राथमिकतामा राख्दै सम्भव भएसम्म छिटो इरान छोड्न आग्रह गरिएको छ।
परराष्ट्र मन्त्रालयले त्यहाँ रहेका नेपालीलाई पासपोर्ट, परिचयपत्र लगायतका महत्त्वपूर्ण कागजात सुरक्षित र सहजै भेटिने स्थानमा राख्न पनि निर्देशन दिएको छ। कुनै आपतकालीन अवस्था आएमा आवश्यक समन्वयका लागि तेहरानस्थित सम्बन्धित निकाय, नेपालस्थित परराष्ट्र मन्त्रालय तथा कतारस्थित नेपाली दूतावाससँग नियमित सम्पर्कमा रहन आग्रह गरिएको छ। हाल इरानमा कति संख्यामा नेपाली नागरिक छन् भन्ने यकिन तथ्यांक भने उपलब्ध नभएको मन्त्रालयले जनाएको छ।