चुनाव नजिकिँदै जाँदा सामाजिक सञ्जालहरूमा एक अर्कालाई होच्याउने, गिराउने र तथानाम नै भन्न मिल्नेगरी गालीगलोज गर्ने क्रम तिव्र रूपले बढेको देखिँदै छ । अझ यसमा आफूलाई सुसंस्कृत राजनीतिक अभ्यासबाट समाजमा तिक्तता मेट्ने तथा अमूल परिवर्तन गर्ने भनेर घोषणा गरेका दल र त्यसमा हस्ताक्षर गरेका आफ्ना नेताहरू नै छुद्र भन्नुपर्ने गरी अभिव्यक्ति दिएर समाजमा विद्वेष फैलाउनथालको जस्तो आभाष हुन थालेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावको प्रचार–प्रसारमा उम्मेदवारहरू अझ त्यसमा पनि परिवर्तन गर्ने भनेर खडा भएका दलका शीर्षस्थहरू नै प्रतिस्पर्धीहरूलाई जति बढी गालीगलौज गर्न सकियो त्यति नै आफू सफल हुने भन्ने मान्यता स्थापित गर्न लागिपरेका जस्ता देखिँदैछन्, जो समाजका लागि दुःखद् मान्नुपर्छ । चुनाव त एक दिन सकिन्छ । अब महिनादिनमा जे–जस्तो भए पनि चुनावको अध्याय समाप्त हुन्छ । त्यसपछि पनि उनले जसका लागि जस्तो भाषामा गालीगलौज गरेका छन् ती भने रेकर्डबाट हतपत्ती मेटिनेवाला छैनन् । यस्तो कामले चुनावपछि पनि वातावरण विषाक्त भइरहने स्थिति आउन सक्दछ ।
यतिबेला खासगरी दुईजना प्रधानमन्त्रीका दाबेदार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहबीच घोचपेच तीव्र भएको देखिन्छ । त्यसको देखासिकीमा अरू पनि लागेका छन् । अर्थात् सामाजिक सञ्जालबाट घोचपेचमा नै प्रतिस्पर्धा अहिलेको चुनावको विशेषता हो कि जस्तो हुन गएको छ । कतिसम्म भने आम नागरिकले प्रधानमन्त्रीका घोषित उम्मेदवारबीच सार्वजनिक बहस होस् भन्ने माग भइरहेको छ । यसमा एमालेका अध्यक्ष ओलीले आफू सार्वजनिक बहसमा आउन तयार रहेको भनेर अरूलाई पनि सहभागी हुन आहृवान गरे । अरू कुरामा जे भनिएपनि यस्तो आहृवान भने सकारात्मक नै हो । उनको यो आहृवानलाई प्रधानमन्त्रीका अर्का दाबेदार रास्वपा वरिष्ठ नेता बालेनले कडा प्रतिक्रिया दिए । यो प्रतिक्रिया आफैँमा दुराग्रह जस्तो लाग्ने खालको छ । त्यसैपनि बालेन सार्वजनिक बहसमा आउन रुचाउने व्यक्ति होइनन् भन्ने आरोप छ । त्यसलाई नै पुष्टी गर्दै बालेनले भनेका छन्– आफूलाई देश जलाउनेका रूपमा स्वीकारेको ठिकै छ, हुन पनि नेताहरूको घर कता कता छन् तपाईंहरूलाई नै थाहा थियो ⁄ तपाईंहरूले आफैँ २३ गते बच्चाहरू मारेको आतंकवाद लुकाउन २४ गते जलाएको हो⁄आफूलाई आतंकवादी चाहिँ कहिले स्वीकार्ने हो ? त्यो पछि अरू कुरा गरौँला ⁄ ७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिने छ ।
निर्वाचनमा कोहीसँग कसैको पनि प्रतिस्पर्धा हुनु स्वाभाविक हो शीर्षस्थका यस्तो अभिव्यक्तिले चुनाव जितेपछि देशको बागडोर सम्हाल्ने ठाउँमा पुग्ने सम्भावित नेतृत्वको यस्तो असहिष्णुता वास्तवमा नै कति सहृय हुने हो भन्ने प्रश्न खडा गर्छ । यस्तो कुरा एउटा कुनामा बसेर सामाजिक सञ्जालबाट होइन सार्वजनिक स्थलमा सार्वजनिक बहसकै क्रममा आउनुपर्छ । यही चुनावमा एक अर्का पार्टीका युवा उम्मेदवारले त मान्छे मार्नेसम्मको घोषणा गरे । यद्यपि निर्वाचन आयोगले उनलाई माफी मगायो तर मतपत्रबाट प्रतिस्पर्धा गरिरहिएको ठाउँमा कसैको घाँटी नै काटिदिने भनेर दुई चारचोटी दोहोरिनुभनेको नियत नै मान्छे मार्ने हो भन्ने बुझनुपर्छ । यतिबेला समामाजिक सञ्जालमा बढी घृणा फैलाउनेमा आफूलाई नयाँ र परिवर्तनकारी हौँ भनी परिचय गराउनेहरूको वर्चस्व देखिएको छ । उनले परिवर्तनका कार्यक्रम त प्रस्तुत गरेका छैनन् नै गाली गलौजमा भने लामा–लामाकीर्ति राखेको अवस्था छ । यही परिवर्तनकारी भन्नेले नै सञ्जालमा एकजना शीर्षज्यूलाई जिउँदै खाडल खनेर पुरिदन अपिल गरे । यस्तो अपिलले कस्तो तिक्तता उत्पादन गर्ला एकपल्ट सौचौँ र हुन सक्दछ भने यस्तो असहिष्णुता त्यागौँ । त्यसो भएन भने निर्वाचनपछि पनि यस्तो सामाजिक विद्वेष झन् बढ्दै जाने खतरा हुन्छ ।