काठमाडौं । राइड–हेलिङ सेवाको प्रयोग बढ्दै गएको अवस्थामा विश्वव्यापी मोबिलिटी प्लेटफर्म इनड्राइभले नेपालमा यात्रु सुरक्षासम्बन्धी विभिन्न इन–एप सुरक्षा उपाय र सुझाव सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार यी उपायहरू यात्राअघि, यात्राका क्रममा र यात्रा सम्पन्न भएपछि लागू हुने गरी तयार गरिएका छन् । इनड्राइभले यात्राअघि प्रयोगकर्तालाई चालकको नाम, फोटो, सवारीसाधनको विवरण र नम्बर प्लेट जाँच गर्न प्रोत्साहित गर्ने जनाएको छ । यात्राको विवरण परिवार वा विश्वासिलो व्यक्तिसँग सेयर गर्न सकिने सुविधा पनि एपमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । यात्राका क्रममा एपमार्फत लाइभ लोकेशन ट्र्याकिङ गर्न सकिने र यात्रु तथा चालकबीच सम्पर्कका लागि मास्क्ड कल फिचर प्रयोग हुने इनड्राइभले जनाएको छ । आपतकालीन अवस्थाका लागि एपभित्र एसओएस बटन समेत राखिएको छ । यात्रा सम्पन्न भएपछि प्रयोगकर्ताले चालकलाई रेटिङ दिन र प्रतिक्रिया तथा गुनासो दर्ता गर्न सक्ने व्यवस्था गरिएको कम्पनीको भनाइ छ । यसले सेवा अनुगमन र सुधारमा सहयोग पुग्ने जनाइएको छ ।
इनड्राइभ नेपालकी कन्ट्री रिप्रेजेन्टेटिभ रीता पोखरेलका अनुसार शहरी मोबिलिटी विस्तार हुँदै गएको सन्दर्भमा सुरक्षा र छनौटको स्वतन्त्रता एक–अर्कासँग सम्बन्धित छन् । प्रयोगकर्तालाई स्पष्ट जानकारी र सुरक्षा उपकरण उपलब्ध गराउने उद्देश्यसहित यी सुविधा प्रदान गरिएको हो । इनड्राइभले यात्रु सुरक्षालाई ध्यानमा राख्दै सेवा सञ्चालन गरिरहेको र प्रयोगकर्ता–केन्द्रित मोबिलिटी प्रणाली विकासमा जोड दिँदै आएको जनाएको छ ।