काठमाडौं । नेपाली कफी कल्चरमा नयाँ आयाम थप्ने उद्देश्यका साथ ‘अल्टुरा कफी’ औपचारिकरूपमा सञ्चालनमा आएको छ ।
पिक कफी हाउस प्रालिले काठमाडौंको तीनकुनेमा उक्त कफी शप सञ्चालनमा ल्याएको हो । कफी पारखीहरूलाई गुणस्तरीय कफी र फरक स्वादको अनुभव दिन लक्ष्य राखेर सञ्चालनमा ल्याइएको अल्टुरा कफीले स्वदेशी तथा अन्तर्राष्ट्रिय स्वादलाई एकै स्थानमा प्रस्तुत गर्ने बताइएको छ । युवा उद्यमीहरूको समूहले संयुक्त रूपमा यो कफी शप सुरु गरेको सञ्चालक धिरन थापाले जानकारी दिए । नयाँ रूपमा सुरु गरिएको अल्टुरा कफीमा क्यापुचिनो, लाटे, एस्प्रेसो, मोका लगायत विभिन्न प्रकारका कफीका साथै ताजा बेकरी आइटम, केक, पेस्ट्री, स्यान्डविच तथा हल्का भोजनको व्यवस्था रहको थापाले बताए । उनका अनुसार करिव एक करोडको रुपैयाँको लगानीमा सञ्चालनमा ल्याइएको यो शपमा नेपाली पहाडी क्षेत्रका अर्गानिक कफी उपलब्ध रहनेछ ।
स्वदेशी उत्पादनको प्रवर्द्धनसँगै रोजगारी सिर्जनामा पनि महत्वपूर्ण योगदान पुर्याउँदै आगामी दिनमा अल्टुरा कफीको शाखा विस्तार गर्ने योजना पनि सञ्चालक टिमको रहेको छ । ‘प्रारम्भिक चरणमा हामीले एउटा शप सञ्चालनमा ल्याए पनि भविष्यमा मुख्य सहरी क्षेत्रमा शाखा विस्तार गर्दै जानेछौँ, नयाँ तरिका अपनाई सञ्चालनमा ल्याएको यस शपबाट पाउने सेवा र स्वादमार्फत फरक पहिचान बनाउनेछ भन्ने ठानेका छौँ’, उनले भने ।