काठमाडौं . त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीको इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाजको दायाँ इन्जिनमा उडेको केही मिनेटमै आगलागी भएको छ। विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार टर्किस एयरलाइन्सको उडान नम्बर टीएचवाई ७२७ बुधबार दिउँसो १स्२८ बजे काठमाडौंबाट उडेको थियो। उडान भरेको करिब चार मिनेटपछि जहाजको दायाँ इन्जिनमा आगलागी भएको संकेत प्राप्त भएको थियो।
क्याप्टेनले तत्काल आपतकालीन प्रक्रिया अपनाउँदै जहाजलाई पश्चिम दिशातर्फ मोडेर दायाँ इन्जिन बन्द गरेका थिए। त्यसपछि जहाजलाई करिब १०–१२ मिनेट आकाशमै होल्ड गराइएको थियो।ए३३०–३०३ सिरिजको उक्त वाइडबडी जहाजमा २२५ यात्रु सवार थिए। घटनाको जानकारी पाएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई करिब १५ मिनेटका लागि पूर्ण रूपमा बन्द गरिएको थियो। सम्भावित आपतकालीन अवस्थालाई ध्यानमा राख्दै दमकल, एम्बुलेन्स लगायत सबै सुरक्षा संयन्त्र तयारी अवस्थामा राखिएको थियो।
दायाँ इन्जिन बन्द गरेपछि आगो नियन्त्रणमा आएको र त्यसपछि जहाज बायाँ इन्जिनको सहायताले भारतको कोलकाता तर्फ डाइभर्ट गरिएको थियो। सम्बन्धित अधिकारीहरूका अनुसार उक्त जहाज कोलकातामा सुरक्षित रूपमा अवतरण गरिसकेको छ। घटनाबारे थप प्राविधिक जाँच हुने बताइएको छ।