अमेरिका, भदौ २५
अमेरिकी कम्पनी उबेरले एप्लिकेसनबाट उपलब्ध हुने आफ्ना सबै ट्याक्सी सन् २०४० सम्ममा विद्युतीय हुने बताएको छ । ती ट्याक्सीहरु अमेरिका, क्यानडा र युरोपेली सहरमा भने अन्तभन्दा १० वर्षअघि नै अर्थात् सन् २०३० सम्ममा विद्युतीय हुनेछन् ।
त्यसका लागि कम्पनीले ८० करोड अमेरिकी डलर खर्च गर्नेछ भने उत्पादकहरुसँग साझेदारी समेत गर्नेछ । प्रयोगकर्ताले विद्युतीय वा हाइब्रिड भेहिकल छान्न पाउनेछन् । यो विकल्प अमेरिका र क्यानडाका १५ सहरमा उपलब्ध हुनेछ । त्यसको लागि थप १ डलर लाग्नेछ । यो वर्षको अन्त्यसम्ममा कम्पनीले विश्वका ६५ भन्दा बढी सहरमा सेवा विस्तार गर्ने जनाएको छ ।
उबेर र उसको प्रतिस्पर्धी लिफ्ट कम्पनीमाथि वायु प्रदूषण र ट्राफिक जाम गराएको भन्दै आलोचना भएको थियो । लिफ्टले पनि सन् २०३० सम्ममा आफ्ना ट्याक्सी सबै विद्युतीय हुने जनाइसकेको छ । उबेरले मंगलबार जनाएअनुसार उसको विद्युतीय ब्याट्री गाडीले शून्य दशमलव १५ प्रतिशतमात्रै रहेको छ । युरोपेली सहरमा सेवा विस्तार गर्न उबेरले रेनो र निसानसँग सहकार्य गर्ने बताइएको छ ।