काठमाडौं । बैंकिङ क्षेत्रको कुल निक्षेप रकम बढेको छ । चालू आर्थिक वर्षको पछिल्लो छ महिनामा बैंक तथा फाइनान्स कम्पनीहरूमा पाँच दशमलव सात प्रतिशत अर्थात् चार खर्ब १७ अर्ब ४८ करोड रुपैयाँले बढेर ७६ खर्ब ८१ अर्ब ३५ करोड निक्षेप पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप तीन दशमलव सात प्रतिशत अर्थात् दुई खर्ब ३९ अर्ब छ करोड रुपैयाँले बढेको थियो । चालू आवको पुस मसान्तमा बैंक तथा फाइनान्स कम्पनीहरूमा रहेको निक्षेप वार्षिक विन्दुगत आधारमा १४ दशमलव आठ प्रतिशतले बढी हो । नेपाल राष्ट्र बैंकका अनुसार पुसमा बैंक तथा फाइनान्स कम्पनीहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः छ दशमलव नौ प्रतिशत, ४१ दशमलव तीन प्रतिशत र ४२ दशमलव आठ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः पाँच दशमलव छ प्रतिशत, ३४ दशमलव एक प्रतिशत र ५२ दशमलव छ प्रतिशत रहेको थियो ।
पुसमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५ दशमलव एक प्रतिशत रहेको छ । २०८१ पुसमा यस्तो निक्षेपको अंश ३५ दशमलव ५२ प्रतिशत थियो । बैंक तथा फाइनान्स कम्पनीहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा भने पछिल्लो अवधिमा तीन दशमलव छ प्रतिशत अर्थात् एक खर्ब ९७ अर्ब ४७ करोड रुपैयाँले बढेर ५६ खर्ब ९५ अर्ब १७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा दुई खर्ब ६५ अर्ब ५६ करोड रुपैयाँ अर्थात् पाँच दशमलव दुई प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा छ दशमलव सात प्रतिशतले बढेको छ ।
पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२ दशमलव सात प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७ दशमलव तीन प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४ दशमलव दुई प्रतिशत र ३५ दशमलव आठ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको तीन दशमलव सात प्रतिशत, विकास बैंकहरूकोे दुई दशमलव नौ प्रतिशत र फाइनान्स कम्पनीहरूको कर्जा प्रवाह एक दशमलव दुई प्रतिशतले बढेको छ । २०८२ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालू सम्पत्ति अर्थात् कृषि तथा गैरकृषिजन्य वस्तुको सुरक्षणमा १५ प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६३ दशमलव नौ प्रतिशत रहेको छ । २०८१ पुस मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः १४ दशमलव पाँच प्रतिशत र ६४ दशमलव नौ प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष २०८२÷८३को छ महिनामा बैंक तथा फाइनान्स कम्पनीहरूको लगानीमा रहेको कर्जामध्ये उपभोग्य क्षेत्रतर्फको कर्जा नौ दशमलव एक प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा सात दशमलव दुई प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा छ दशमलव दुई प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा चार दशमलव चार प्रतिशत, वित्त बीमा तथा अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा एक दशमलव एक प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको कर्जा शून्य दशमलव नौ प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फको कर्जा एक दशमलव एक प्रतिशतले घटेको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये मार्जिन प्रकृतिको कर्जा आठ दशमलव तीन प्रतिशत, ट्रस्ट रिसिट अर्थात् आयात कर्जा सात दशमलव आठ प्रतिशत, हायर पर्चेज कर्जा सात दशमलव तीन प्रतिशत, क्यास क्रेडिट कर्र्जा तीन प्रतिशत, माग तथा अन्य चालू पुँजी कर्जा दुई दशमलव नौ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) दुई दशमलव पाँच प्रतिशत र आवधिक कर्जा दुई दशमलव चार प्रतिशतले बढेको छ । यस अवधिमा अधिविकर्ष कर्जा भने तीन दशमलव तीन प्रतिशतले घटेको छ ।