मुम्बईस्थित ऐतिहासिक वानखेडे स्टेडियममा टी–२० विश्वकपअन्तर्गत समूह चरणको पाँचौं खेलमा नेपाल र इंग्ल्याण्ड आइतबार आमनेसामने हुँदैछन्। खेल नेपाली समयअनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ।इंग्ल्याण्डले टस जितेर पहिले ब्याटिङ रोजेको छ। यस खेलमार्फत नेपालका शेर मल्लले डेब्यू गर्दैछन्। त्यस्तै शेर मल्लसहित आरिफ शेख, लोकेश बम र नन्दन यादवले पहिलो पटक टी–२० विश्वकप खेल्दैछन्।
नेपाली टोली:
कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुलशन झा, करण केसी, शेर मल्ल, नन्दन यादव र सन्दीप लामिछाने।टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यी दुई टोलीबीच यो पहिलो भेट हो। सुपर–८ चरणको दौडमा दुवैका लागि जितका साथ सुरुआत गर्नु महत्त्वपूर्ण मानिएको छ।
सन् २०२२ को टी–२० विश्वकप जितेपछि इंग्ल्याण्डको प्रदर्शन उतारचढावपूर्ण रह्यो। २०२३ को एकदिवसीय विश्वकप, २०२५ को च्याम्पियन्स ट्रफी र एसेज सिरिजमा निराशाजनक नतिजा बेहोरे पनि पछिल्लो एक वर्षमा उसले सशक्त पुनरागमन गरेको छ। इंग्ल्याण्डले पछिल्ला ११ खेलमध्ये १० मा जित निकालेको छ र श्रीलंकाविरुद्ध ३–० को क्लिन स्विप गरेको थियो।
इंग्ल्याण्डको मुख्य बल ब्याटिङ हो। कप्तान जोस बटलर, टम बान्टन, ह्यारी ब्रुक र साम कुरान जस्ता खेलाडीले कुनै पनि बेला खेलको दिशा बदल्न सक्छन्। स्पिनमैत्री पिचलाई ध्यानमा राख्दै टोलीमा आदिल राशिद, रेहान अहमद र लियाम डसनलाई समावेश गरिएको छ भने तीव्र बलिङ आक्रमणको नेतृत्व जोफ्रा आर्चरले गर्नेछन्।
उता नेपाल ‘जायन्ट किलर’ बन्ने लक्ष्यसहित मैदान उत्रँदैछ। २०२४ विश्वकपका लागि छनोट भएपछि नेपाली क्रिकेटको स्तर उल्लेखनीय रूपमा उकासिएको छ। नेपालले पछिल्ला २३ खेलमध्ये १७ मा जित निकाल्दै आत्मविश्वास बढाएको छ। शारजाहमा वेस्ट इन्डिजविरुद्ध २–१ को ऐतिहासिक सिरिज जित्नु टोलीका लागि ठूलो उपलब्धि बन्यो।
नेपालको ब्याटिङ कुशल भुर्तेल र आसिफ शेखमा धेरै निर्भर देखिन्छ। कुशल र उपकप्तान दीपेन्द्र सिंह ऐरी दुवैले टी–२० मा शतक प्रहार गरिसकेका छन्। बलिङतर्फ सन्दीप लामिछाने मुख्य हतियार हुन्, जसले विश्वस्तरीय ब्याटिङ लाइनअपलाई समेत दबाबमा पार्ने क्षमता राख्छन्।
दुवै टोलीले आफ्ना पछिल्ला पाँच खेलमा लगातार जित निकालेका छन्, जसले प्रतिस्पर्धा झन् रोचक बनाएको छ। वानखेडेको पिच ब्याटिङअनुकूल मानिने भएकाले उच्च स्कोरको खेल हुने अनुमान छ। तर इंग्ल्याण्डका ब्याटरहरू कहिलेकाहीँ स्पिनमा संघर्ष गर्ने गरेका कारण नेपालका स्पिनरहरूले खेलको नतिजा प्रभावित पार्न सक्ने अपेक्षा गरिएको छ।यो खेल नेपालका लागि आफूलाई विश्व क्रिकेटमा स्थापित गर्ने अर्को अवसरका रूपमा हेरिएको छ।