चीनको तीव्र आर्थिक विकास, खुला नीति तथा दीर्घकालीन योजनाबाट नेपालले भाव लिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।‘चीनको खुलापन र नेपालका लागि अवसरहरू ः चीनको १५औँ पञ्चवर्षीय योजनाको व्याख्या’ विषयक कार्यक्रममा सहभागीहरूले चीनको विकास दिन प्रतिदिन सुदृढ बन्दै गएको उल्लेख गर्दै नेपालले पनि चिनियाँ विकास मोडेल, नीतिनिर्माण प्रक्रिया, प्रविधि हस्तान्तरण र आर्थिक रणनीतिबाट सिक्दै आफ्ना विकासका लक्ष्य हासिल गर्न सक्ने बताए । विशेषगरी आगामी १५औँ पञ्चवर्षीय योजनामार्फत चीनले दिगो विकास, नवप्रवर्तन, हरित अर्थतन्त्र, डिजिटल प्रविधि र क्षेत्रीय सहकार्यलाई प्राथमिकतामा राखेको सन्दर्भमा नेपालका लागि नयाँ सम्भावना खुल्ने उनीहरूको भनाइ थियो । कार्यक्रममा गण्डकी प्रदेश योजना आयोगका पूर्वउपाध्यक्ष डा. रघु काफ्ले र नेपाल नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ रिसर्च कन्सल्टेन्ट डा. मुक्ति रिजालले मुख्य वक्ताका रूपमा आफ्ना धारणा राखेका थिए । डा. काफ्लेले चीनको दीर्घकालीन योजना प्रणाली, कार्यान्वयन क्षमता र नतिजामुखी दृष्टिकोणबाट नेपालले धेरै कुरा सिक्न सक्ने उल्लेख गरे । उनले नेपालमा पनि योजनालाई कागजमा सीमित नराखी कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यकता औँल्याउँदै संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको बताए । यसैगरी डा. रिजालले चीनको आर्थिक रूपान्तरणको अनुभवलाई नेपालको सन्दर्भमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा प्रकाश पारेका थिए । पूर्वाधार विकास, औद्योगिकीकरण, निर्यात प्रवद्र्धन, मानव संशाधन विकास र डिजिटल अर्थतन्त्रमा चीनसँग सहकार्य विस्तार गर्न सके नेपालको अर्थतन्त्रलाई मजबुत बनाउन सहयोग पुग्ने उनले बताए ।