झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन्। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको आदेशअनुसार उनलाई हाजिरी जमानीमा छाडिएको केन्द्रीय साइबर ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) दीपकराज अवस्थीले जानकारी दिए। प्रसाईंलाई प्रहरीले शुक्रबार दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट पक्राउ गरेको थियो। उनी काठमाडौंबाट पर्साको वीरगञ्जतर्फ जाँदै गरेका बेला नियन्त्रणमा लिइएका थिए।पछिल्लो समय प्रसाईंले ‘पहिला हिन्दू अधिराज्य, अनि मात्र निर्वाचन’ भन्ने अभिव्यक्ति दिँदै आएका थिए। यही क्रममा १९ माघमा चितवनमा आयोजित कार्यक्रममा उनले राजसंस्था पुनःस्थापना नभएसम्म निर्वाचन हुन नसक्ने बताएका थिए। प्रशासनले तोकेको स्थानभन्दा बाहिर कार्यक्रम सञ्चालन गरेपछि केही समय तनावको अवस्था समेत सिर्जना भएको थियो। सोही गतिविधि र अभिव्यक्तिलाई आधार मानेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।