पर्वतारोहण तथा ट्रेकिङ क्षेत्रमा ‘फेक रेस्क्यु’ गराई बीमा रकम ठगी गर्ने लाजिम्पाटस्थित श्रीद्धि इन्टरनेशनल हस्पिटल प्रालिका सञ्चालक डा. गिर्वाणराज तिमिल्सिना पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार पक्राउ गरेको हो । सीआईबीले ‘पर्वतारोहण’ तथा ‘ट्रेकिङ’का क्रममा विदेशी पर्यटकलाई स्वास्थ्य समस्या वा प्राकृतिक विपत् परेको झुटो विवरण देखाउँदै अनावश्यक उद्धार गराई बीमा रकम दाबी गरी गैरकानुनी आर्थिक लाभ लिएको उजुरीका आधारमा अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धानका क्रममा माउन्टेन रेस्क्यु सर्भिस प्रालि, एभरेस्ट एक्सपेरियन्स एन्ड असिस्टेन्स प्रालि तथा नेपाल चार्टर सर्भिस प्रालिजस्ता उद्धार तथा चार्टर सेवा कम्पनीहरूले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण र विमानस्थलमा रहेको अभिलेखलाई प्रभावित पार्दै यात्रु र कार्गो मेनिफेस्ट फरक–फरक ढंगले पेश गरेको पाइएको सीआईबीले जनाएको छ ।त्यस्तै, उद्धार गरिएको भनिएका विदेशी पर्यटकलाई अनिवार्य बीमा पोलिसीमा उल्लेख भएका सर्तअनुसार काठमाडौंका विभिन्न अस्पतालमा भर्ना गरी उपचार गरिएको देखाई भर्ना, डिस्चार्ज रिपोर्ट, मेडिकल रिपोर्ट र उपचार खर्चका बिल तयार पारी त्यसकै आधारमा बीमा रकम दाबी गरिएको उल्लेख छ ।
सीआईबीका अनुसार यस कार्यले नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा बदनाम गराउने खालका समाचार तथा अभिव्यक्ति फैलिन सहयोग पुगेको र नेपाललाई पर्यटकहरूका लागि ‘निषेधित’ गन्तव्य स्थान घोषणा गर्न विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समाचार प्रकाशित भएको छ ।यस प्रकरणमा संलग्न रहेको आरोपमा ‘श्रीद्धि इन्टरनेसनल हस्पिटल प्रालि’का सञ्चालक तिमिल्सिनाविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा ५१ अन्तर्गत राष्ट्रहित प्रतिकूल काम गरेको कसुरमा काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएर माघ २५ गते थप अनुसन्धान सुरु गरिएको सीआईबीले जनाएको छ । यस प्रकरणमा अनुसन्धान जारी रहेको र संलग्न अन्य व्यक्ति तथा संस्थाको भूमिकाबारे समेत विस्तृत छानबिन गरिने सीआईबीले जनाएको छ ।