बैंक तथा फाइनान्स कम्पनीहरूमा खोलिएको कुल निक्षेप अर्थात् बचत खाताको संख्या छ करोड नाघेको छ । चालू आर्थिक वर्षको पछिल्लो छ महिनामा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीसहितका ५४ वटा संस्थाहरूमा खोलिएको कुल निक्षेप खाता संख्या छ करोड १७ लाख ७९ हजार आठ सय ७२ पुगेको हो । गत आवको सोही अवधिमा कुल निक्षेप खाता संख्या पाँच करोड ७९ लाख २५ हजार सात सय ९५ वटा मात्र थियो । राष्ट्र बैंकका अनुसार गत साउनदेखि पुस मसान्तसम्ममा वाणिज्य बैंकहरूमा कुल निक्षेप खाता संख्या पाँच करोड ३० लाख २३ हजार चार सय ३८ वटा छ । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूमा कुल चार करोड ९६ लाख ५१ हजार एक सय ३७ वटा मात्र निक्षेप खाता सञ्चालनमा थिए ।
यसैगरी विकास बैंकहरूमा सञ्चालनमा कुल निक्षेप खाताको संख्या चालू आवको पछिल्लो छ महिनाको अवधिमा ७६ लाख ८९ हजार छ सय २६ वटा पुगेको छ । गत आवका सोही अवधिमा विकास बैंकहरूमा कुल ७३ लाख ३९ हजार दुई सय ५६ वटा मात्र निक्षेप खाता सञ्चालनमा थिए । फाइनान्स कम्पनीहरूमा सञ्चालनमा रहेको कुल निक्षेप खाताको संख्या पनि चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसम्ममा १० लाख ६६ हजार आठ सय आठवटा पुगेको छ । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरूमा कुल नौ लाख ३५ हजार चार सय दुईवटा बचत खाताहरू सञ्चालनमा थिए ।राष्ट्र बैंकका अनुसार चालू आवको दोस्रो त्रैमासमा बैंकिङ क्षेत्रमा सञ्चालनमा रहेको कुल निक्षेप खाताको संख्या छ करोड १७ लाख नाघे पनि कुल कर्जा खाताको संख्या भने २० लाखको हाराहारीमा रहेको छ । सोअनुसार चालू आवको पुस मसान्तसम्ममा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूमा सञ्चालनमा रहेको कुल कर्जा खाताको संख्या २० लाख २४ हजार दुई सय ८० वटा पुगेको छ । गत आवको सोही अवधिमा बैंकिङ क्षेत्रमा कुल १९ लाख २५ हजार साात सय २४ वटा कर्जा खाता सञ्चालनमा थिए ।
बैंकिङ क्षेत्रमा सञ्चालनमा रहेको कुल कर्जा खाता संख्यामध्ये वाणिज्य बैंकहरूमा मात्र सञ्चालनमा रहेको कुल कर्जा खाताको संख्या चालू आवको दोस्रो त्रैमासिक अवधिसम्ममा १६ लाख ७८ हजार चार सय छवटा पुगेको छ । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूमा १६ लाख पाँच हजार आठ सय १५ वटा कर्जा खाता सञ्चालनमा थिए । विकास बैंकहरूमा भने चालू आवको पुस मसान्तसम्ममा कुल दुई लाख ६८ हजार आठ सय ५९ वटा कर्जा खाता सञ्चालनमा छन् । गत आवको सोही अवधिमा विकास बैंकहरूमा कुल दुई लाख ७५ हजार नौ सय ५० वटा कर्जा खाताहरू सञ्चालनमा रहेका थिए । यसैगरी फाइनान्स कम्पनीहरूमा भने चालू आवको दोस्रो त्रैमासिक अवधिसम्ममा कुल ७७ हजार १५ वटा कर्जा खाताहरू सञ्चालनमा रहेका छन् । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरूमा कुल ४३ हजार नौ सय ५९ वटा कर्जा खाताहरू सञ्चालनमा रहेका थिए ।
राष्ट्र बैंकले पुनः खिच्यो ५० अर्ब
काठमाडौं, नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ खिचेको छ । अधिक तरलता नियन्त्रणका लागि आइतबार मौद्रिक उपकरण बिक्री गरेर उक्त परिमाणमा रकम खिचिएको हो । परिपक्व हुुने अवधि ४२ दिन तोकिएको यो उपकरणको साँवाब्याज भुक्तानी यही चैत आठ गते गरिनेछ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूमा यो उपकरण बिक्री गरिएको हो । खरिदकर्ताहरूले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुुल आह्वान रकमसम्मको निक्षेप उपकरण खरिद गर्नसक्ने सीमा तोकिएको थियो । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंकबाहेकका बैंक तथा फाइनान्स कम्पनीहरूमा धितोको रूपमा समेत राख्ने सकिने व्यवस्था रहेको राष्ट्र बैंकको भनाइ छ ।