काठमाडौं, काठमाडौंको क्षेत्रपाटीमा रहेको क्यापिटल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडमा सदस्यहरूले बचत गरेको एक अर्ब बढी रकम अपचलन भएको छ । उक्त सहकारीका सञ्चालक समितिका उच्च पदाधिकारी, ऋण उपसमितिका संयोजक तथा सदस्य र प्रमुख व्यवस्थापकको मिलेमतोमा उक्त रकम घोटाला भएको पाइएको हो । संगठितरूपमा नै रकम अपचलनपछि त्यसलाई लुकाउन प्रमुख व्यवस्थापकलाई बेपत्ताजस्तो बनाएर राखिएको छ । क्यापिटल सहकारीका अध्यक्ष रामचन्द्र शर्मा पर्वतका स्थायी बासिन्दा हुन् । उनी क्षेत्रपाटीतिर औषधि बिक्रीको व्यवसाय गर्दै आएका छन् । औषधि व्यवसाय गर्न आर्थिक समस्या परेपछि रैथाने व्यापारीको सिफारिसमा एनसीसी बैंकबाट १७ लाख रुपैयाँ कर्जा लिएर व्यवसाय चलाएका शर्मा अहिले उक्त सहकारीको रकम अपचलन गरेर करोडौँ रुपैयाँको धनी बनेका छन् ।
तर त्यसरी सहकारीको अपचलन गरेको रकम कारबाही पर्ने डरले उनले नातेदार र आफन्तहरूको नाममा राखेका छन् । सहकारीको रकम अपचलन गरेर व्यक्तिको निजी सम्पत्ति बनाएपछि त्यसको सबै दोष अरुलाई दिन सहकारीका प्रमुख व्यवस्थापक दिनेश पौडेललाई सहमतिमै लुक्न लगाइएको छ । व्यवस्थापक पौडेल एक अर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरेर २०७८ साल असार ११ गतेदेखि कार्यालयमा उपस्थित भएका छैनन् । उनी बेपत्ताजस्तै छन् । त्यसो त उनी बेपत्ता भएका नभई सहकारीकै अध्यक्ष, उपाध्यक्षहरूको मिलेमतोमा भगाएर लुकाइएको जानकारहरू बताउँछन् । सहकारीका उपाध्यक्ष अशोक पाण्डे अध्यक्ष शर्माका विश्वासपात्र मानिन्छन् । बेपत्ता भएका भनिएका प्रमुख व्यवस्थापक पौडेल उपाध्यक्ष सापकोटाका नातेदार पनि हुन् । सहकारीमा कसैले प्रश्न गरे वा आवाज उठाएमा शिक्षा तथा स्वास्थ्य उपसमितिमा सदस्य रहेकी सरस्वती पौडेलले मुद्दा हालेर दुःख दिने गरेकी छिन् । उनी पनि नाताले उपाध्यक्ष सापकोटाकी दीदी हुन् ।
अध्यक्ष शर्मा, उपाध्यक्ष सापकोटा र कोषाध्यक्ष पाण्डेले गरेको धन्दालाई लेखा समितिका संयोजक किरणकुमार पौडेल, ऋण उपसमितिका अशोक पाण्डे, सदस्य सुशीलकुमार काफ्ले, शिक्षा तथा स्वास्थ्य उपसमितिका संयोजक प्रयासचन्द्र पौडेल, सदस्यहरू सरस्वती पौडेल र देवेन्द्रबहादुर श्रेष्ठले सघाउँदै आएका छन् ।
शिक्षा उपसमितिका संयोजक पौडेल निजी स्कुलका सञ्चालक हुन् भने सदस्य श्रेष्ठ महाराजगञ्जमा टिचिङ अस्पतालअगाडिका औषधि पसले हुन् । ऋण उपसमितिका संयोजक पाण्डे र सदस्य काफ्लेले आफ्ना मानिसमार्फत ऋण पनि लिने गरेको बताइएको छ । यिनै मानिसहरूको समूह क्यापिटल सहकारीमा एउटा गिरोहको रूपमा परिणत भएको छ । उनीहरूबाहेक सहकारीका अरु सञ्चालक र सदस्यहरूलाई हिसाबकिताब हेर्न पूर्ण रूपमा निषेध गरिएको छ । सहकारीमा बचतकर्ताहरूले परिपक्व भएको आफ्नो रकम झिक्न नपाएको निकै वर्ष भइसकेको छ । प्रमुख व्यवस्थापक पौडेल अफिस नआएकाले आफूहरूलाई यथार्थ जानकारी नभएको, उनको खोजी भइरहेको, उनी भेटिएपछि खबर गर्नेजस्ता झुटा आश्वासन दिएर समेत पीडित बचतकर्ताहरूलाई झुलाउने गरिएको छ भने केहीलाई यदाकदा दुई पाँच हजार रुपैयाँ दिएर पन्छाउने गरिएको छ ।
तर त्यही सहकारीको रकम अपचलन गरेर सञ्चालन गरिएको आरमेडी नामको औषधि बेच्ने कम्पनी, घर–जग्गा तथा अन्यत्रका लगानी समेत अध्यक्ष शर्मा, उपाध्यक्ष सापकोटा तथा कोषाध्यक्ष पाण्डेले आफन्तका नाममा नामसारी गरिसकेको बताइएको छ । त्यही सहकारीबाट अपचलन गरिएको रकम अध्यक्ष शर्माले अकैको नाममा कलंकीमा रहेको एक अस्पतालमा समेत लगाएको थाहा भएको छ । केही समयअघि बालेनको आदेशमा महानगरको टोलीले त्यस अस्पतालमा कारबाही समेत गरेको थियो । क्यापिटल सहकारीको अध्यक्ष शर्माको टिमले सहकारीको रकम आफन्त र आफूअनुकूलका पात्रहरूमार्फत आफ्नो हित हुनेगरी लगानी गर्ने गरेको र बचत रकम फिर्ता माग्न आउनेहरूलाई प्रमुख व्यवस्थापक पौडेल बेपत्ता भएकोले आफूहरूलाई हिसाब थाहा नभएको भनेर पन्छिने गरेका छन् ।
सहकारीका नाममा भएका चल–अचल, भौतिक–अभौतिक सबै सम्पति संगठितरूपमा दोहन गर्दै आएको सो समूहले केही खातावालहरूको नाममा खातावाललाई थाहै नदिई नक्कली ऋणी बनाई करोडौँ रुपैयाँ निकालेर दुरुपयोग गर्ने गरेको समेत भेटिएको छ । सहकारी संस्था दर्ताको प्रक्रियादेखि नै एकाध स्थानीय धनीलाई त्यसमा हालेर अधिकांश आफ्नै गाउँठाउँका पदाधिकारीले भरिभराउ गरेर दर्तादेखि नै ठगीको तानाबाना बुन्ने गरेका छन् । बेपत्ता भएका भनिएका प्रमुख व्यवस्थापक पौडेलमार्फत सोही गिरोहको सम्पर्कमा रहेका व्यक्तिहरूलाई प्रवाह भएको कर्जामध्ये लगभग डेढ अर्ब रुपैयाँ उठ्ने अवस्था नरहेको बताइएको छ । तीमध्ये एक जना न्यायाधीशको श्रीमतीलाई पनि विना कुनै औपचारिक रेकर्ड १० करोड रुपैयाँ मौखिक कर्जा दिइएको र न्यायाधीशको हृदयाघातबाट निधनपछि श्रीमतीले कर्जा नै नलिएको भन्दै तिर्न नमानेपछि नयाँ समस्या थपिएको छ । झण्डै एक हजार जना सदस्य रहेको क्यापिटल सहकारीमा बचत रकम दुई अर्ब ३९ करोड रुपैयाँ रहेको छ ।
तीन अर्ब रुपैयाँ हाराहारी लगानी रहेको क्यापिटल सहकारीको न्युरोडमा सेवा कार्यालय पनि रहेको छ । तर क्षेत्रपाटीमा रहेको भनिएको केन्द्रीय कार्यालय र न्युरोडमा रहेको सेवा कार्यालयमा रहेको पाँचवटै टेलिफोन नम्बरमा यसबारेमा जानाकारी लिन फोन गर्दा फोन नै गएन । अध्यक्ष शर्मा र प्रमुख व्यवस्थापक पौडेल तथा ऋण अधिकृतको मिलेमतोमा दिएर नउठेको कर्जाको केही विवरण पनि प्राप्त भएको छ । त्यस्तो रकम मात्र एक अर्ब १७ करोड रुपैयाँभन्दा बढी छ । यसबाहेक पनि सहकारीमा रकम अपचलन भएको पाइएको छ ।