वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित एक गोदाममा राजस्व छलीको आशंकामा गरिएको छापामारीका क्रममा व्यापारी र सुरक्षाकर्मीबीच झडप हुँदा तीनजना सशस्त्र प्रहरी कर्मचारी घाइते भएका छन्।सशस्त्र प्रहरी बल नेपाल र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले विशेष सूचनाको आधारमा प्रमोद कुमार कानुले सञ्चालन गरेको ‘बबिता इन्टरप्राइजेज’ नामक गोदाममा छापा हानेको हो। सशस्त्र प्रहरी बल, प्रस्तावित सीमा सुरक्षा बल वीरगञ्ज भन्सारमा कार्यरत सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) विकास अधिकारीका अनुसार टोली गोदाममा पुगेर खानतलासी सुरु गर्नासाथ स्थानीय व्यापारीहरूले विरोध जनाएका थिए। व्यापारीहरूले सामानको स्पष्ट बिलबिजक रहेको दाबी गर्दै आफूहरूलाई विनाकारण दुःख दिइएको आरोप लगाएका छन्। बिल देखाउँदा पनि सामान नियन्त्रणमा लिन खोजेपछि अवस्था तनावग्रस्त बनेको उनीहरूको भनाइ छ।यता सशस्त्र प्रहरीले भने आक्रोशित व्यापारीहरूको समूहले ढुंगामुढा गरेपछि झडपको अवस्था सिर्जना भएको जनाएको छ। ढुंगा प्रहारबाट सशस्त्र प्रहरीको गाडीको अगाडिको सिसा फुट्नुका साथै तीनजना प्रहरी सामान्य घाइते भएका छन्। छापामारीका क्रममा गोदामबाट पाँच पोका साडी, कुर्ता–सुरुवाल लगायत कपडाका सामग्री नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएको सामानको अनुमानित मूल्य करिब पाँच लाख रुपैयाँ बराबर रहेको बताइए पनि विस्तृत विवरण र यकिन परिमाण सार्वजनिक गरिएको छैन। हाल सामानको लगत संकलन तथा मुचुल्का उठाउने काम भइरहेको छ। गोदामको स्वामित्व, सामानको वैधता लगायत विषयमा थप अनुसन्धान जारी रहेको डीएसपी अधिकारीले जानकारी दिए। घटनापछि उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।