जिल्लाकै पुरानो तथा एक समय उत्कृष्ट शैक्षिक केन्द्रका रूपमा परिचित वैतेश्वर माध्यमिक विद्यालयले आइतबार ७३औँ स्थापना दिवस मनाएको छ ।स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा वक्ताहरूले विद्यालयको गौरवशाली इतिहास स्मरण गर्दै हालको शैक्षिक अवस्था र घट्दो विद्यार्थी संख्याप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनीहरूले विद्यालयको शैक्षिक अवस्था सुधार गर्नुपर्नेमा जोड दिएका छन् । कुनै समय एक हजार दुई सयदेखि एक हजार पाँच सयसम्म विद्यार्थी अध्ययन गर्ने वैतेश्वर माविमा हाल कक्षा १ देखि १२ सम्म जम्मा एक सय ३१ जना विद्यार्थीमात्र अध्ययनरत छन् । कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक रविचन्द्र आचार्यले २०५६÷०५७ सालतिर देशकै उत्कृष्ट नतिजा ल्याउने विद्यालय अहिले किन शैक्षिक रूपमा कमजोर बन्दै गएको हो भन्ने विषयमा समीक्षा आवश्यक रहेको बताए । उनले विद्यालय, अभिभावक र स्थानीय सरकारले संयुक्त रूपमा समाधान खोज्नुपर्नेमा जोड दिए । वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले विद्यालय भौतिक रूपमा सुदृढ भए पनि घट्दो जनसंख्याले शैक्षिक गुणस्तर र उपलब्धिमा नकारात्मक असर पारेको बताए । दुई–तीन दशकअघि जिल्लाकै शैक्षिक केन्द्रका रूपमा चिनिने नाम्दुको वैतेश्वर मावि पछिल्ला वर्षहरूमा विद्यार्थी संख्याको कमीका कारण शैक्षिक उपलब्धिमा खस्किँदै गएको उनको भनाइ थियो । अध्यक्ष लामाले विद्यालयमा देखिएको कमजोर नेतृत्व, शिक्षक–शिक्षकबीचको असमझदारी र बढ्दो राजनीतिक हस्तक्षेपले शैक्षिक गुणस्तरमा असर पु¥याएको उल्लेख गरे । उनले गाउँपालिकाले सामुदायिक विद्यालय संरक्षणका लागि अनिवार्य भर्ना अभियान सञ्चालन गरे पनि कतिपय शिक्षक तथा कर्मचारीले निर्णयको पालना नगरेको बताए । वैतेश्वर गाउँपालिका उपाध्यक्ष कल्पना उप्रेतीले सामुदायिक विद्यालयको संरक्षण स्थानीय समुदायको साझा दायित्व भएको बताइन् । देशव्यापी रूपमा सामुदायिक विद्यालयमा देखिएको विद्यार्थी संख्या घट्ने समस्या वैतेश्वरमा मात्र सीमित नभएको उल्लेख गर्दै उनले संख्याभन्दा शैक्षिक गुणस्तरमा जोड दिनुपर्नेमा जोड दिइन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अशोक तामाङले विद्यालयको शैक्षिक सुधारका लागि निरन्तर प्रयास भइरहेको बताए । सोही विद्यालयमा अध्ययन गरेर चिकित्सक बनेका पूर्व विद्यार्थी डा. वासुप्रसाद घिमिरेले वैतेश्वर माविको शैक्षिक साख जोगाउन पूर्व विद्यार्थी, अभिभावक र नयाँ पुस्ताको सक्रिय भूमिका आवश्यक रहेको बताए ।कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शक्तिराज उप्रेतीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका शैक्षिक उपलब्धि र चुनौतीबारे जानकारी गराएका थिए । स्थापना दिवसको अवसरमा विद्यालयलाई सहयोग पु¥याउने पूर्व विद्यार्थी, अभिभावक, शिक्षक तथा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो । यसै अवसरमा पूर्वप्रधानाध्यापक रविचन्द्र आचार्यले नेपाल सरकारबाट प्राप्त एक महिनाको सेवा सुविधा बराबरको ४० हजार रुपैयाँको चेक विद्यालयलाई हस्तान्तरण गरेका थिए ।