उच्च अदालत विराटनगरले ३३ किलो सुन तस्करी तथा सनम शाक्यको हत्याकाण्डसँग सम्बन्धित मुद्दामा जिल्ला अदालत मोरङको फैसला आंशिक रूपमा उल्ट्याउँदै मुख्य आरोपितहरूलाई १० वर्ष कैद सजाय सुनाएको छ।उच्च अदालतका न्यायाधीश महेन्द्र उपाध्याय र प्रकाशचन्द्र अधिकारीको संयुक्त इजलासले चूडामणि उप्रेती ‘गोरे’, नरेन्द्र कार्की, मोहन काफ्ले र भोजराज भण्डारीलाई जिल्ला अदालतले तोकेको जन्मकैद सजाय घटाएर १० वर्ष कैद सजाय निर्धारण गरेको हो। त्यस्तै, लाक्पा शेर्पा र भविन तामाङको हकमा भने जिल्ला अदालतकै फैसला सदर गरिएको उच्च अदालत विराटनगरका सूचना अधिकारी सन्तोष पोखरेलले जानकारी दिए। बहुचर्चित ३३ किलो सुन तस्करी प्रकरणसँग जोडिएको सनम शाक्य हत्या घटनाले लामो समयदेखि सार्वजनिक तथा कानुनी वृत्तमा चर्चा पाउँदै आएको थियो। उच्च अदालतको पछिल्लो फैसलासँगै यस मुद्दामा सजाय निर्धारणको अवस्था थप स्पष्ट भएको छ।