हिमाली जिल्ला दोलखाको उत्तरी क्षेत्र राजनीतिक रूपमा प्रभावशाली मानिएपनि यहाँका हजारौँ नागरिक भने आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित छन् । जिल्लाबाट प्रतिनिधित्व गर्ने ठूला राजनीतिक दलका नेताहरू सांसद र मन्त्री भइसकेका भए पनि उत्तरी दोलखामा हालसम्म स्तरीय अस्पताल निर्माण हुन सकेको छैन । परिणामतः गौरीशंकर, विगु र कालिञ्चोक गाउँपालिकाका नागरिक वर्षौंदेखि सिंगटी प्राथमिक अस्पतालमै निर्भर रहन बाध्य छन् ।जिल्लाका नौ स्थानीय तह मध्ये सबैभन्दा दुर्गम मानिने यी तीन गाउँपालिकाका हजारौँ नागरिक सामान्य उपचारका लागि पनि घण्टौँ पैदल वा महँगो सवारी भाडा तिरेर सिंगटी पुग्ने गरेका छन् । पछिल्ला वर्षहरूमा जलविद्युत् आयोजनाका कारण सडक र विद्युत् पुगेपनि स्तरीय स्वास्थ्य सेवा अझै उपलब्ध हुन नसकेको हो । कालिञ्चोक गाउँपालिका–३ मा रहेको सिंगटी प्राथमिक अस्पताल उत्तरी दोलखाको मुख्य स्वास्थ्य केन्द्र बनेको छ । गौरीशंकर गाउँपालिकाका टासिंनाम, रिन्कु, सिमिगाउँ, सुरी, खारे, चंखु, मार्वु तथा विगु गाउँपालिकाका आलम्पु, लादुक, बुलुङ, खोपाचाँगु लगायतका दुर्गम बस्तीबाट बिरामी यहाँ उपचारका लागि आउने गरेका छन् । गौरीशंकर–५ सुरीकी सर्किनी शेर्पाले टाउकोमा चोट लागेपछि सिंगटी प्राथमिक अस्पताल आएको बताइन् । नजिकैको सुरी स्वास्थ्य चौकीमा नियमित डाक्टर नबस्ने भएपछि उनी सिँगटी आएकी हुन् । उनले एकतर्फी तीन सय रुपैयाँ भाडा तिरेर उपचार गराएको बताइन् । ‘पैसा खर्च भए पनि यहाँको डाक्टरले जाँच गर्दा ढुक्क हुन्छ,’ उनले भनिन् । कालिञ्चोक–१ क्याम्पोलका बिर्खबहादुर थामी पनि महिनामा दुई पटक उपचारका लागि सिंगटी आउने गरेको बताउँछन् । खुट्टामा स्टिल हालिएको सात महिना भएका उनी नियमित फलोअपका लागि अस्पतालमा आउने गरेका छन् । ‘एक्स–रे, ल्याब जाँच निःशुल्क छ, औषधिमा पनि छुट पाइन्छ, त्यही भएर यहाँ आउँछु’, उनले भने । अस्पताल प्रशासन प्रमुख ईश्वर खड्काका अनुसार सिंगटी प्राथमिक अस्पतालमा दैनिक ४० भन्दा बढी बिरामी आउने गरेका छन् भने मासिक सेवाग्राही संख्या एक हजार पाँच सय नाघेको छ । १५ शय्याको यस अस्पतालमा तीन जना डाक्टर कार्यरत छन् । एक्स–रे, भिडियो एक्स–रे, थाइराइड जाँच सुविधा निःशुल्क उपलब्ध छ भने तीन महिनाको सुगर परीक्षण न्यूनतम शुल्कमा गरिँदै आएको छ । जग्गा अभावले ४२ करोड बजेट फ्रिज सेवा प्रभावकारी भए पनि अस्पतालले गम्भीर संरचनात्मक समस्या झेलिरहेको छ । अस्पतालको आफ्नै नाममा जग्गा नहुँदा पूर्वाधार विस्तार रोकिएको छ । हाल अस्पताल सञ्चालन भइरहेको जग्गा सामुदायिक वनको नाममा रहेको छ । अस्पतालका लागि आवश्यक न्यूनतम ९ रोपनी जग्गा नपाउँदा दुई पटक गरी कुल ४२ करोड रुपैयाँ बजेट फ्रिज भएको अस्पताल प्रशासन प्रमुख खड्काले बताए । उनका अनुसार पहिलो चरणमा २१ करोड र गत आर्थिक वर्षमा पुनः २१ करोड रुपैयाँ अस्पताल भवन निर्माणका लागि आएको बजेट जग्गा अभावकै कारण कार्यान्वयन हुन सकेन ।स्थानीय नागरिकले राजनीतिक दल र नेताहरूको उदासीनताका कारण बजेट गुमेको गुनासो गरेका छन् । अस्पताल प्रशासनले स्थानीय तह, राजनीतिक दल, सरोकारवाला निकाय र वन प्रशासनसँग जग्गा व्यवस्थापनका लागि निरन्तर पहल गरिरहेको जनाएको छ । जग्गा सुनिश्चित भएमा सिंगटी प्राथमिक अस्पताल उत्तरी दोलखाकै नमुना स्वास्थ्य केन्द्र बन्न सक्ने स्थानीयको विश्वास छ । यसैबीच, अस्पतालले चाँडै शव पोस्टमार्टम सेवा पनि सुरु गर्ने तयारी गरेको छ । हाल मृतकको शव पोस्टमार्टमका लागि सदरमुकाम चरिकोट लैजानुपर्ने बाध्यता छ । कानुनी प्रक्रिया पूरा भइसकेको र आवश्यक जनशक्ति व्यवस्थापनपछि केही दिनभित्रै सिंगटीमै पोस्टमार्टम सेवा सुरु गरिने अस्पतालले जनाएको छ ।