नेपाल राष्ट्र बैंकको आगामी फागुन २५ गतेबाट रिक्त हुने डेपुटी गभर्नर पदको लागि रस्साकस्सी सुरु भएको छ । नेपाल राष्ट्र बैंकको सात सदस्यीय सञ्चालक समितिमा गभर्नर अध्यक्ष र दुई जना डेपुटी गभर्नरसहितका व्यक्तिहरू रहने व्यवस्था छ । सोही व्यवस्थाबमोजिम अहिलेका डेपुटी गभर्नर डा. निलम ढुंगाना र बमबहादुर मिश्र फागुन २५ गते अनिवार्य अवकाशमा जानेछन् ।राष्ट्र बैंकमा डा. ढुंगाना र मिश्रपछि डेपुटी गभर्नर को बन्ने भन्ने विषयमा अहिले दौडधुप सुरु भएको हो । राष्ट्र बैंकमा हाल १८ जना कार्यकारी निर्देशक रहेका छन् । तीमध्येबाट राष्ट्र बैंकले अर्थ मन्त्रालयमा सहमतिमा तीन जनाको नाम सिफारिस गर्नेछ भने तीनमध्ये दुई जनालाई डेपुटी गभर्नरको रूपमा नियुक्त गरिनेछ । अहिले राष्ट्र बैंकमा नरेश शाक्य, रेवतीप्रसाद नेपाल, रामु पौडेल, विश्रुत थापा, दयाराम शर्मा, गुरुप्रसाद पौडेल, किरण पण्डित, डा. सत्येन्द्र्र तिमिल्सिना, चेतप्रेसाद उप्रेती, रोशनकुमार सिग्देल, डा. रामशरण खरेल, डा. डिल्लीराम पोखरेल, दीर्घबहादुर रावल, निश्चल अधिकारी, अनुज दाहाल, दिपकराज लामिछाने, राजनविक्रम थापा र राजेन्द्र भट्टराई कार्यकारी निर्देशक रहेका छन् ।
राष्ट्र बैंकमा रहेका यिनै १८ जना कार्यकारी निर्देशकमध्ये लघुवित्त सुपरीवेक्षण विभागका प्र्रमुख समेत रहेका नरेश शाक्य र सम्पत्ति तथा सेवा व्यवस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपाललाई डेपुटी गभर्नर बनाउने विषयमा अर्थमन्त्री रामेश्वर खनाल र गभर्नर डा. विश्वनाथ पौडेलबीच सहमति भइसकेको स्रोतले बताएको छ । निर्वाचन आचार संहिता लागू भए पनि निर्वाचन आयोगले नियमित काम नरोक्नु भनेर डेपुटी गभर्नरको नियुक्ति प्रक्रियालाई राष्ट्र बैंकको नियमित कामसँग जोडेर स्वीकृति समेत दिइसकेको जानकारी पनि स्रोतले दिएको छ । सो विषयमा राष्ट्र बैंकका उच्च अधिकारीसँग बुझ्न खोज्दा डेपुटी गभर्नरको नियुक्ति राष्ट्र बैंकको नियमित प्रक्रियाअन्तर्गत हुने र को हुने भन्ने विषय पनि त्यही नियमित प्रक्रियाअन्तर्गत रहेको भन्दै यसको बारेमा आफूहरूलाई जानकारी नहुने बताए । स्रोतका अनुसार अहिले डेपुटी गभर्नर हुन लागेका नेपाल भने अर्थमन्त्री खनालको नजिकका नातेदार समेत हुन् ।