काठमाडौँ । नेपाल उद्योग परिसंघ र राष्ट्रिय तथ्यांक कार्यालयबीच राष्ट्रिय आर्थिक गणना, २०८२ गर्न सहकार्य गर्ने सम्झौता भएको छ ।परिसंघले आयोजना गरेको राष्ट्रिय आर्थिक गणना, २०८२ केन्द्रित अन्तरक्रिया कार्यक्रममा तथ्यांक कार्यालय र परिसंघबीच समझदारी गरी अध्ययन र तथ्यांक विश्लेषणमा सहकार्य गर्ने सहमति भएको हो । कार्यक्रममा राष्ट्रिय तथ्यांक कार्यालयका उप–प्रमुख ढुण्डीराज लामिछानेले राष्ट्रिय आर्थिक गणना, २०८२ मा निजी क्षेत्रको आशंका निवारण गर्दै तथ्यांक ऐन, २०७९ अनुसार तथ्यांकको पूर्ण गोपनीयता कायम गरिने बताए ।
द्योगी व्यवसायीहरूको विवरणको सुरक्षाप्रति संवेदनशील रहेको भन्दै उनले यो गणना कसैलाई करको दायरामा ल्याउन वा दण्डित गर्न नभई मुलुकको वास्तविक आर्थिक सूचकहरू तयार गरी अनुसन्धान र नीति निर्माण गर्ने प्रयोजनका लागि रहेको बताए । उनले भने, ‘निजी क्षेत्रको सहभागिता विना यो अभियान सफल हुन सक्दैन । त्यसैले हामी परिसंघ जस्ता संगठित संस्थाहरूसँग घनिभूत सहकार्य गर्न चाहन्छौ ।’ राष्ट्रिय आर्थिक गणना, २०८२ मूल नारा ‘अर्थतन्त मापनको लागि आर्थिक गणना’ रहेको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक डा. वेद प्रसाद ढकालले राष्ट्रिय आर्थिक गणना, २०८२ सम्बन्धी प्रस्तुतिकरण गर्दै आर्थिक गणना अनौपचारिक अर्थतन्त्रको वास्तविक आकार पत्ता लगाउने, अर्थतन्त्रको वास्तविक आकार पत्ता लगाउनुलगायत रहेको बताए । परिसंघका महानिर्देशक डा. घनश्याम ओझाले निजी आर्थिक गणना तथ्यांक संकलनमा परिसंघले नेतृत्वदायी भूमिका खेल्ने बताए । सही तथ्यांक आए मात्र उद्योगी र सरकार दुवैलाई योजना बनाउन सहज हुने हुँदा निजी क्षेत्र यस प्रक्रियामा जोडिनुपर्नेमा उनले जोड दिए ।