नेपाल–कतार संयुक्त व्यवसाय परिषद् (जेबीसी)को पहिलो बैठक काठमाडौँमा सम्पन्न भएको छ । नेपाल र कतारबीच द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धिलाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यसहित गठन गरिएको परिषद्को पहिलो बैठकले दुई देशबीच आर्थिक सहकार्यलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ ।बैठकमा दुवै देशका निजी क्षेत्रका प्रतिनिधिहरूले लगानी प्रवद्र्धन, व्यापार विस्तार, निजी क्षेत्र–निजी क्षेत्र बीटुबी सहकार्य तथा सरकार–सरकार (जीटुजी) समन्वयका विषयमा गहन छलफल गरेका थिए । सहभागीहरूले नेपाल र कतारबीचको आर्थिक सम्बन्धलाई दीर्घकालीन र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाली पक्षले लगानीमैत्री वातावरण सुधार गर्न कानुनी संशोधन, डिजिटल प्रणालीमार्फत स्वीकृति प्रक्रिया सरल बनाउने र सार्वजनिक–निजी साझेदारी (पीपीपी) प्रवद्र्धनमा सरकारको जोड रहेको उल्लेख गर्दै नेपालको उर्जा, खनिज, स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि प्रशोधन, सूचना प्रविधिलगायतका विविध क्षेत्रमा कतारी लगानीको लागि आग्रह गरेको छ । साथै, बैठकमा नेपाली टोलीले नेपालमा कतारी लगानीका लागि आवश्यक सहजिकरण गर्न तयार रहेको र नेपाली व्यवसायीहरूलाई पनि कतारमा सेवा क्षेत्र, पर्यटन–सम्बद्ध उद्योग, सीप विकास तथा साना तथा मझौला उद्यममा अवसर खोज्न आग्रह गर्दै संयुक्त उद्यमको सम्भावनामा जोड दिइएको छ ।
यस्तै कतारी प्रतिनिधि मण्डलले नेपालमा लगानीको वातावरणबारे सकारात्मक धारणा राख्दै दुवै देशका निजी क्षेत्रबीच प्रत्यक्ष सहकार्य र व्यवसायिक आदान–प्रदान विस्तार गर्न आफूहरू इच्छुक रहेको धारणा राखेका थिए । उनीहरूले नेपाल साच्चिकै सुन्दर रहेको र नेपालमा धेरै क्षेत्रमा लगानीको सम्भावना रहेकोले सहकार्य गर्न सकिनेमा जोड दिएका थिए । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी दिनमा नेपाल–कतार आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने र व्यापार तथा लगानी वृद्धि गर्न बैठकले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए । महासंघले विदेशी लगानी सहजीकरण, संस्थागत सहकार्य सुदृढीकरण तथा व्यवसायदेखि–व्यवसाय सम्पर्क प्रवद्र्धनमा प्रतिबद्ध रहेको उनले बताए ।महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नेपाल–कतार संयुक्त व्यवसाय परिषद्लाई औपचारिकतामा सीमित नराखी व्यवहारिक र परिणाममुखी बनाउनु पर्नेमा जोड दिए । ‘परिषद्लाई ठोस परिणाम दिने प्लेटफर्म हुनुपर्छ भन्ने साझा समझदारी बनेको छ । यसलाई परियोजना पहिचान, समस्या समाधान तथा दुवै पक्षका लागि व्यावसायिक रूपमा लाभदायक साझेदारी विकास गर्ने प्रभावकारी माध्यम बनाउन सकिन्छ र बनाउनु पर्दछ’, उनले भने ।कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका बोर्ड सदस्य तथा प्रतिनिधीमण्डलका प्रमुख मोहद अहमद एम.ए. अलोबैदेलीले नेपालमा स्थिर नीति, स्पष्ट कानुनी संरचना र बैंकिङ सहजीकरण भएमा कतारी लगानीकर्ताहरू दीर्घकालीन लगानीका लागि तयार रहेको उल्लेख गर्दै सहकार्यका ठोस क्षेत्र पहिचान गरेमा नेपालमा कतारी लगानीको लागि पहल गर्ने बताए । यसका लागि परिषद्को भुमिकालाई प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए । महासंघका कोषाध्यक्ष भरतराज आचार्यले संयुक्त व्यवसाय परिषद्लाई नेपाल–कतारबीचको दीर्घकालीन आर्थिक सहकार्यको सक्रिय पुलका रूपमा विकास गर्दै लैजानुपर्ने बताए ।सन् २०२४ अप्रिलमा कतारका महामहिम अमिर शेख तमीम बिन हमद अल थानीको नेपाल भ्रमणका क्रममा संयुक्त व्यवसाय परिषद् स्थापनासम्बन्धी सम्झौता हस्ताक्षर भएको थियो । संयुक्त व्यवसाय परिषद् नेपाल र कतारका निजी क्षेत्रबीच संवाद, व्यवसायिक सहकार्य तथा प्रत्यक्ष संलग्नता प्रवद्र्धन गर्ने संरचित मञ्चका रूपमा स्थापना गरिएको हो । जेबीसीको बैठकले नेपाल–कतारबीचको आर्थिक सहकार्यलाई संस्थागत रूप दिँदै आगामी दिनमा व्यापार, लगानी र निजी क्षेत्रको प्रत्यक्ष साझेदारीलाई मजबुत बनाउने अपेक्षा गरिएको छ ।