बंगलादेशमा विद्यार्थी विद्रोहको पृष्ठभूमिमा गठन भएको नेशनल सिटिजन पार्टी (एनसीपी) ले संसदीय निर्वाचनमा अपेक्षाभन्दा कमजोर प्रदर्शन गरेको छ। मतगणना जारी रहँदा एनसीपीले जितेको सिट संख्याबारे विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले फरक–फरक तथ्यांक दिएका छन्। ढाका ट्रिब्युनका अनुसार हालसम्म एनसीपीले ४ सिट जितेको छ र एक सिटमा अग्रता कायम गरेको छ। तर CNN र Reutersले भने एनसीपीले ५ सिट जितेको उल्लेख गरेका छन्। सीएनएनका अनुसार पार्टीले ३० निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको थियो। अपेक्षाअनुरूप परिणाम नआएपछि एनसीपीले मतगणनामा अनियमितता भएको आरोप लगाउँदै पुनः मतगणनाको माग गरेको छ। BBCका अनुसार पार्टीले औपचारिक रूपमा पुनः मतगणनाको प्रक्रिया अघि बढाउन आग्रह गरेको हो। सन् २०२४ को विद्यार्थी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री शेख हसिना सत्ताच्युत भएसँगै एनसीपी गठन भएको थियो। आन्दोलनका चर्चित अनुहारमध्येका एक नाहिद इस्लामले पार्टीको नेतृत्व गरिरहेका छन्। एनसीपीले आफूलाई भ्रष्टाचार र तानाशाहीविरुद्धको वैकल्पिक शक्ति भन्दै युवाका रोजगारी, हिंसापीडितलाई न्याय र संस्थागत सुधारका मुद्दा उठाउँदै आएको छ। जुलाई २०२४ मा सुरु भएको विद्यार्थी आन्दोलन प्रारम्भमा सरकारी जागिरमा आरक्षणको विरोधमा केन्द्रित थियो। पछि आन्दोलन भ्रष्टाचार र सरकारी दमनविरुद्धको व्यापक विद्रोहमा रूपान्तरण भएको थियो। आन्दोलनका क्रममा करिब १४ सय मानिस मारिएको संयुक्त राष्ट्रसंघले जनाएको छ, जसमा अधिकांश विद्यार्थी र युवा थिए। आन्दोलन चर्किएपछि शेख हसिना भारत पुगेकी थिइन्। त्यसपछि नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो। सोही सरकारले पछिल्लो निर्वाचन गराएको हो। हसिनाको दलमाथि प्रतिबन्ध लागेकाले निर्वाचनमा सहभागी हुन पाएको थिएन। यसैबीच बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले सबैभन्दा धेरै सिट जित्दै बहुमत हासिल गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। पार्टीका अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने तयारीमा छन्। बीएनपी करिब दुई दशकदेखि सत्ताबाहिर थियो। भारतमा निर्वासनमा रहेकी पूर्वप्रधानमन्त्री शेख हसिनाले भने यस चुनावलाई पूर्ण रूपमा फर्जी र असंवैधानिक भएको आरोप लगाएकी छन्। अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले गैरकानुनी रूपमा सत्ता कब्जा गरी त्यसैको आधारमा चुनाव गराएको उनको दाबी छ।