राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्ध दायर सम्पत्ति शुद्धीकरण र संगठित अपराध सम्बन्धी मुद्दा तत्काल फिर्ता नहुने भएको छ।जिल्ला अदालत कास्की का न्यायाधीश नितिश राई को इजलासले सोमबार मुद्दा फिर्तासम्बन्धी निवेदनमाथि सुनुवाइ गर्दै तत्काल मुद्दा फिर्ता नहुने आदेश दिएको हो। अदालतले यस विषयमा अन्तिम निर्णय अघि सर्वोच्च अदालत बाट हुने आदेश पर्खनुपर्ने उल्लेख गरेको छ। यसअघि महान्यायाधिवक्ता सविता भण्डारी ले पुस ३० गते लामिछानेविरुद्ध दायर मुद्दा फिर्ता लिने निर्णय गर्दै जिल्ला सरकारी वकिलको कार्यालय कास्की लाई परिपत्र गरेकी थिइन्। सोही आधारमा सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा फिर्ताको निवेदन दर्ता गरेको थियो। तर महान्यायाधिवक्ताको उक्त निर्णयविरुद्ध युवराज पौडेल ९युवराज सफल० ले माघ २ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। रिटमाथिको प्रारम्भिक सुनुवाइका क्रममा महान्यायाधिवक्ता भण्डारीले मुद्दा दर्तापछि थप प्रमाण फेला परेकोले फिर्ता लिने निर्णय गरिएको जिकिर गरेकी थिइन्। सर्वोच्च अदालतले सो दाबी सम्बन्धमा थप प्रमाण पेस गर्न आदेश दिएको छ। उक्त प्रमाण पेस भएपछि मात्रै सर्वोच्चमा थप सुनुवाइ अघि बढ्नेछ। लामिछानेविरुद्ध काठमाडौं, चितवन, रुपन्देही लगायत जिल्लामा पनि मुद्दा दर्ता रहेको बताइएको छ। अब सर्वोच्च अदालतको आगामी आदेशले यस प्रकरणको दिशानिर्देश गर्ने देखिएको छ।