काठमाडौँ । गत माघ महिनामा देशभरका मालपोत कार्यालयहरुले पाँच अर्ब नौ लाख २४ हजार राजस्व संकलन गरेका छन् । गत पुसमा पाँच अर्ब १७ करोड ३२ लाख राजस्व संकलन गरेकामा माघमा भने केही घटेको हो ।
देशभरको मालपोतको राजस्व संकलनलगायतको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार घरजग्गाको कारोबार उल्लेख्य रूपमा बढ्न सकेको छैन । विभागका अनुसार गत माघ महिनामा कुल ५० हजार आठ सय ३७ लिखत पारित भएको छ । गत वर्षको तुलनामा यस वर्षको माघमा लिखत पारितको संख्यामा केही बढोत्तरी भएको छ ।
विभागका अनुसार गत माघमा सेवा करबापत ३१ करोड ५८ लाख ७२ हजार चार सय ८८, रजिस्ट्रेसन दस्तुर दुई अर्ब ६८ करोड ६९ लाख ४२ हजार पाँच सय ३२ संकलन भएको थियो । त्यसैगरी पुँजीगत लाभकरबापत एक अर्ब ९६ करोड ५५ लाख १२ हजार २६७ संकलन भएको विभागले जनाएको छ ।