काठमाडौँ । माया खोला हाइड्रोपावर लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेडबीच माया खोला हाइड्रोपावरको हकप्रद सेयर निष्कासनको लागि निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता भएको छ । सोमबार भएको उक्त सम्झौतामा माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष दिनेश प्रसाद श्रेष्ठ तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार सिटिजन्स क्यापिटलले माया खोला हाइड्रोपावर लिमिटेडको एक करोड कित्ता हकप्रद सेयर निष्कासनको लागि नेपाल धितोपत्र बोर्डको अनुमति लिन गर्नुपर्ने कार्यहरू तथा अनुमति पश्चात्को बिक्री प्रबन्धकको कार्यहरू गर्नेछ । कम्पनीको स्थापना २०६७ सालमा प्रालिको रूपमा भई २०७३ सालमा लिमिटेडमा रुपान्तर भएको हो । यस कम्पनीले सङ्खुवासभा जिल्लामा १४ं.९ मे. वा. क्षमताको माया खोला हाइड्रोपावर आयोजनको निर्माण गरी मिति २०८० असारदेखि विद्युत् उत्पादन गरी नेपाल विद्युत् प्राधिकरण्लाइे बिक्री गर्दै आइरहेको छ । यस कम्पनीले सर्वसाधारणहरूलाई २०७९ माघमा प्राथमिक सेयर जारी गरेको थियो ।