तेहरान । इरानी चालू आर्थिक वर्षको १० महिनाको अवधिमा इरानको व्यापार घाटा छ अर्ब अमेरिकी डलरले खुम्चिएको इस्लामिक रिपब्लिक न्यूज एजेन्सी (इर्ना) ले आइतबार जनाएको छ ।
इरानको भन्सार प्रशासनको तथ्यांकलाई उद्धृत गर्दै इर्नाले भनेको छ, सन् २०२५ मार्च २१ देखि सन् २०२६ जनवरी २० सम्मको अवधिको लागि व्यापार सन्तुलन चार अर्ब डलरको घाटामा रहेको छ, जुन अघिल्लो वर्षको १० अर्ब डलरको घाटाको तुलनामा उच्च सुधार हो । इजरायलसँग १२ दिने युद्ध, संयुक्त राष्ट्र संघको प्रतिबन्ध र अमेरिकाको कडा एकपक्षीय प्रतिबन्धका बाबजुद यो सुधार आएको हो ।
यो आर्थिक वर्षमा इरानले कुल १३ करोड ३० हजार टन गैरपेट्रोलियम पदार्थजन्य निर्यातबाट ४५ करोड अमेरिकी डलर मूल्यबराबरको कारोबार गरेको थियो, यो आयतनको आधारमा गत वर्षभन्दा १.३३ प्रतिशत बढी हो तर एक वर्षअघिको तुलनामा ६.३ प्रतिशतले कम हो । आयात ४.६ प्रतिशतले बढेर तीन करोड ३१ लाख ७० हजार टन पुगेको छ तर यसको मूल्य १५.५५ प्रतिशतले घटेर ४९.१ अर्ब डलर कायम भएको छ । रासस/एएफपी