दोलखा । दोलखा जिल्लाको गौरीशंकर गाउँपालिकाका केही भूभागमा अझैसम्म पनि मोबाइलको नेटवर्क चल्दैन । स्थानीय बासिन्दाका अनुसार सुरी क्षेत्र चारैतिर डाँडाले घेरिएकाले चरीकोट वा हनुमन्ते डाँडाका टावरले यहाँ काम गर्दैनन् । नेटवर्क खोज्नकै लागि डाँडाकाँडा धाउनुपर्ने स्थानीयहरूको बाध्यता रहेको उनीहरूको गुनासो छ ।
गौरिशंकर वडा नम्बर ५ सुरी पूर्व संचारमन्त्री पार्वत गुरुङको आफ्नो गाउँ हो । तर संचारमन्त्री भइसकेको मानिसको गाउँमै टेलिफोनको असुविधा, नेटवर्कका कारण संचार सम्पर्क नहुने अवस्था रहेको यहाँका स्थानियको गुनासो छ । सञ्चार मन्त्रालय सम्हालिसकेका व्यक्तिकै गाउँमा अहिलेसम्म टेलिफोनको असुविधा हुनु दुःखद् रहेको उनीहरू बताउँछन् । सञ्चारमात्र नभई यो क्षेत्रमा बस सेवासमेत नपुगेको उनीहरूको गुनासो छ । एक वृद्धाले हातमा मोबाइल गीत सुन्न मात्रै ठिक्क भएको भन्दै नेटवर्क आक्कलझुक्कल मात्रै आउने गरेको सुनाइन् । अर्का एक स्थानीयले सञ्चारमात्र नभई यो क्षेत्रमा बस सेवासमेत नपुगेको गुनासो गरे ।
पार्वत गुरुङ दुई पटक यस क्षेत्रबाट चुनाव जितेर सांसद बनिसकेका छन् । यसपटक पनि उनी प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । गुरुङ सञ्चारमन्त्री भएको बेलामा पनि आफ्नो गाउँमा टेलिफोन टावरको व्यवस्था गर्न नसकेपछि अन्य दलका प्रतिस्पर्धीहरूले गुरुङको विपक्षमा यही मुद्दा उठाएका छन् । घरदैलोमा पुगेका नेपाली काँग्रेसका उम्मेदवार अजयबाबु शिवाकोटीले स्थानियलाई मोबाइल नेटवर्कको उपलब्ध गराइदिने आस्वासन दिए । ‘सुरी पुग्दा आफ्नो गाडीमा केही समस्या आएको र पछाडि छुटिरहेका साथीहरूलाई गाडी कहाँ छ भनेर बुझ्न खोज्दा मोबाइलमा सिग्नल नै थिएन । यस्तो ठाउँमा सञ्चारको यो हालत देख्दा मलाई अचम्म लाग्यो’, शिवाकोटीले भने ।
उनले आफू चुनाव जितेर गएपछि पहिलो काम नै सुरी र यस आसपासका क्षेत्रलाई टेलिफोन नेटवर्कमा जोड्ने हुने बताए । ‘म पार्वत दाइलाई समेत सहजै फोन गर्न मिल्ने गरी सञ्चार मन्त्रालय र नेपाल टेलिकमसँग समन्वय गरेर अर्को वर्ष यहाँ टावर ठड्याउने छु’, उनले भने । गौरीशंकर गाउँपालिका पुर्व मन्त्री गुरुङसँगै पूर्व वनमन्त्री विसाल खड्का तथा पूर्व राज्य मन्त्री देवी खड्काको गृह पालिका पनि हो । पटकपटक मन्त्री हुँदासमेत यहाँका नागरिकले टेलिफोन र यातायातको सहज पहुँच नपाएको स्थानीयहरूको गुनासो रहेकोे छ । यहाँका स्थानियहरू नेताको भाषण पटक पकट सुनेको भन्दै कुनै उम्मेद्वारको कुरा पत्याउन भने सहज रूपमा तयार छैन । भाषण गर्ने तर काम नगर्ने नेताहरूको प्रवृतिदेखि नागरिकहरू वाक्क भएका छन् । पछिल्ला दिनहरूमा यहाँका राजनितिक दलहरूले आफ्नो घरदैलो अभियान र मतदाता भेटघाट कार्यक्रमलाई तीव्र पारेका छन् । एक मात्र निर्वाचन क्षेत्र रहेकोे दोलखामा ३३ जना दल तथा स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।