काठमाडौं, भदौ २६
सेयर बजार परिसूचक उकालो लागेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक १२ दशमलव ४९ अंकले उकालो लागेर १५ सय २० दशमलव ६९ अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ७१ अंकले उकालो लागेर तीन सय एक दसलव ३८ अंकमा चढेको छ । यस दिन कुल एक सय ८९ कम्पनीहरूको कारोबार भएका छन् । जसअनुसार २९ हजार चार सय ३५ वटा कारोबारमा ४२ लाख ६२ हजार छ सय ९८ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम दुई अर्ब १७ करोड ६८ हजार दुई सय ८३ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसमध्ये तीनवटा समूहको सूचक ओरालो लागेको छ भने बाँकी समूहको सूचक उकालो लागेका छन् । तीमध्ये पनि वाणिज्य बैंक समूहको सूचक तीन दशमलव ८३ अंकले उकालो लागेर १२ सय आठ दशमलव ३९ अंकमा चढेकोमा विकास बैंक समूहको सूचक पनि १५ दशमलव सात अंकले उकालो लागेर १७ सय ६२ दशमलव पाँच अंकमा चढेको छ ।
जलविद्युुत् समूहको सूचक पनि दुई दशमलव ३१ अंकले उकालो लागेर ११ सय तीन दशमलव ३८ अंकमा चढेकोमा लघुवित्त समूहको सूचक पनि ३३ दशमलव ७३ अंकले उकालो लागेर २६ सय सात दशमलव ५१ अंकमा चढेको छ । यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि दुई सय ९९ दशमलव दुई अंकले उकालो लागेर आठ हजार ३५ दशमलव ३६ अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि दुुई सय चार दशमलव ५३ अंकले उकालो लागेर नौ हजार पाँच सय ३६ दशमलव चार अंकमा चढेको छ ।
यीबाहेक फाइनान्स, उत्पादनमूलक र अन्य समूहको सूचक पनि क्रमशः दुुई दशमलव २४, ३६ दशमलव ३२ र शून्य दशमलव ३९ अंकले उकालो लागेका छन् । टे«डिङ, होटल र सामूहिक लगानी कोष समूहको सूचक भने क्रमशः ३० दशमलव २१, एक दशमलव १३ र शून्य दशमलव शून्य दुुई अंंकले ओरालो लागेका छन् । यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य नौ रुपैयाँ ९९ पैसाले बढेर ११ हजार नौ सय ५४ रुपैयाँमा किनबेच भएको छ ।
दोस्रो स्थानमा परेको राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयरतर्फ सेयर मूल्य पनि नौ रुपैयाँ ९९ पैसाले बढेर १० हजार चार सय ५८ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक रिलायन्स लाइफ इन्स्याोरेन्स कम्पनी, एभरेष्ट इन्स्योरेन्स कम्पनी आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको नबिल इक्विटी फण्डको प्रतियुनिट सेयर मूल्य पाँच रुपैयाँ ६४ पैसाले घटेर आठ रुपैयाँ ८६ पैसामा किनबेच भएको छ । दोस्रो स्थानमा परेको आशा लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य चार रुपैयाँ १३ पैसाले घटेर नौ सय २८ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक नागरिक लगानी कोष, सिन्धु विकास बैंक आदिको सेयर मूल्य पनि घटेका छन् ।
यसदिन बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा भने नेपाल पुनर्बीमा कम्पनी परेको छ । उक्त कम्पनीको प्रतिकित्ता आठ सय ९६ रुपैयाँ अन्तिम मूल्यमा १६ करोड ९१ लाख ९६ हजार तीन सय ८८ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नागरिक लगानी कोषको पनि प्रतिकित्ता ३५ सय ४६ रुपैयाँ अन्तिम मूल्यमा नौ करोड २२ लाख ८२ हजार एक सय ३५ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक एभरेष्ट इन्स्योरेन्स कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदिको पनि बढी रकम कारोबार भएका छन् । सामान्य अवस्थामा नेप्से बिहान ११ बजे खुलेर तीन बजे बन्द हुने भएपनि यस दिन भने नेप्सेको व्यवस्थापन प्रणालीमा समस्या आएको भन्दै २ बजेर १५ मिनेटमा खुलेर साँझ पाँच बजे बन्द भएको थियो ।