काठमाडौं । एनआईसी एसिया क्यापिटल लिमिटेड र होटल इस्टर्न नेपाल लिमिटेडबीच सम्झौता भएको छ । क्यापिटलले आफ्नो आईडीयो टु आईपीओ सेवाअन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि आईपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक पर्ने सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आइरहेको छ । सोही सेवाअन्तर्गत मेचिनगर–१०, झापामा कारोबार कार्यालय रहेको होटल इस्टर्न नेपाल लिमिटेडको प्रवन्धपत्रमा व्यवस्था भएअनुसार प्रचलित कानुनको अधिनमा रही भविष्यमा सर्वसाधारणहरुमा प्राथमिक सेयर निष्कासन गर्नको लागि एनआईसी एसिया क्यापिटल लिमिटेड र होटल इस्टर्न नेपाल लिमिटेडबीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको हो ।
होटल इस्टर्न नेपाल मेचिनगर–१०, झापामा रहेको अन्तराष्ट्रिय स्तरको प्रस्तावित ५ तारे होटल हो । होटल इस्टर्न नेपाल संचालनको लागि इन्टर कन्टिनेन्टल होटल ग्रुप—एसिया प्यासेफिक प्राली (आईएचजी) को ब्रान्ड अन्तर्गतको विश्व विख्यात ख्याती प्राप्त होलिडे इन एक्स्रेस एन्ड स्वीट्ससँग व्यवस्थापकिय सम्झौतासमेत सम्पन्न भइसकेको छ । जसअन्तर्गत होटलको समग्र व्यवसाय विस्तार, होटल संचालन तथा व्यवस्थापनमा प्रत्यक्ष सहभागिता रहने छ । निर्माणको अन्तिम चरणमा रहेको होटल इस्टर्न नेपाल यही मिति २०८३ साल जेठभित्र सफ्ट ओपनिङ्ग गर्ने लक्ष्यसहित सम्पूर्ण आवश्यक प्रक्रिया अगाडी बढाएको छ ।