काठमाडौं । चाँगुनारायण भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजका सात जना अनुसन्धानकर्ताहरूले बेस्ट पेपर अवार्ड प्राप्त गरेका छन् । कलेजका अनुसन्धानकर्ताहरू प्रभातकुमार चौधरी, सन्तोषकुमार चौधरी, उज्ज्वलकुमार कर्ण, दिपिका न्यौपाने, राजीवकुमार यादव, दिपेशप्रसाद गुरागाईं र विजय श्रेष्ठलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि तथा फोटोनिक्स सम्मेलन २०२६ मा बेस्ट पेपर अवार्ड दिइएको हो ।
उनीहरूलाई ‘तूर(अरहर) बालीका रोग वर्गीकरणका लागि प्रभावकारी गहिरो सिकाइमा आधारित मोबाइल अनुप्रयोग’ शीर्षकको गहिरो अध्ययन, प्रविधिगत उत्कृष्टता र वास्तविक कृषिसम्बन्धी समस्याहरूको समाधानका लागि उक्त अवार्ड दिइएको आयोजक अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि तथा फोटोनिक्स सम्मेलन २०२६ ले जानकारी दिएको छ । अनुसन्धानककर्ताहरूले प्राप्त गरेको अवार्डको अन्तर्राष्ट्रिय मान्यताले नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरूको उत्कृष्टता प्रस्फुटन गराउनुको साथै कलेजले नवप्रवर्तन प्रवर्द्धन, प्रभावशाली अनुसन्धान विकास र विश्वव्यापी वैज्ञानिक प्रगतिमा योगदान दिने प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ । कलेजले नेपालमै पहिलो पटक रिसर्च एन्ड इनोभेसन सेन्टर फर नेपालसँगको सहकार्यमा फेब्रुअरी ११ देखि १४ सम्म ह्यात सेन्ट्रिक काठमाडौंमा आई ट्रिपल ई अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि तथा फोटोनिक्स सम्मेलन २०२६ सफलतापूर्वक सम्पन्न गरेको थियो ।
सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाका अनुसन्धानकर्ता, प्राज्ञ, उद्योग विशेषज्ञ तथा विद्वानहरूलाई एकै ठाउँमा ल्याई सूचना तथा सञ्चार प्रविधि र फोटोनिक्स क्षेत्रमा भएका पछिल्ला उपलब्धि तथा अनुसन्धानका निष्कर्षहरू आदान–प्रदान गरेका थिए ।