काठमाडौं । क्याम्ब्रिज युनिर्भसिटी प्रेस एन्ड एसेसमेन्टअन्तर्गतको द इन्टरनेसनल एडुकेसन ग्रुप नेपालमा आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्डका विजेताहरूको घोषणा गरिएको छ ।
नोभेम्वर २०२४ र जून २०२५ मा क्याम्ब्रिजको परीक्षा शृंखला (सिरिज)मा नेपालका माध्यमिक तहका विद्यार्थीको उत्कृष्ट शैक्षिक उपलब्धिको सम्मानमा यो अवार्ड प्रदान गरिएको हो । क्याम्ब्रिज इन्टरनेसनल एएस र ए लेभल परीक्षामा नेपालका ४७ जना विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएका छन् । उनीहरूमध्ये ४ जना विद्यार्थीले विश्वभरबाट उच्च अंक हासिल गरेका छन् भने ३६ जनाले नेपालभित्र एकल विषयमा उच्च अंक प्राप्त गरेका छन् । विश्वका विभिन्न ४० वटा देशमा क्याम्ब्रिज इन्टरनेसनल एडुकेसनले सञ्चालन गर्ने परीक्षामा सहभागी भएर विद्यार्थीले पाएको सफलतालाई आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड कार्यक्रमले सम्मान गर्दै आएको छ । क्याम्ब्रिजबाट हासिल भएको योग्यताले विश्वविद्यालय तहको अध्ययन तथा त्यसपछिका पेसागत र व्यावसायिक कार्यमा विद्यार्थीहरूलाई आवश्यक पर्ने सीप प्रदान गर्ने जनाइएको छ । क्याम्ब्रिजबाट विद्यार्थीले प्राप्त गर्ने शैक्षिक योग्यतालाई विश्वभरका उत्कृष्ट र अग्रणी शैक्षिक संस्थाल मान्यता दिइरहेका छन् । साथै, ती संस्थाले विद्यार्थीको आलोचनात्मक सोचाइको क्षमता, अनुसन्धानका लागि चाहिने दक्षता र सीप तथा बिषयगत क्षेत्रमा उनीहरूको ज्ञानलाई उच्च कदर गर्ने गरेका छन् ।
क्याम्ब्रिज युनिर्भसिटी प्रेस एन्ड एसेसमेन्टअन्तर्गत अन्र्तराष्ट्रिय शिक्षासम्बन्धी दक्षिण एसियाका क्षेत्रीय निर्देशक विनय शर्माले विद्यार्थीहरूलाई शैक्षिक विकास गर्न, सामथ्र्य अनुसार उपलब्धि हासिल गर्न र कक्षाकोठाभन्दा बाहिर समेत सबल तुल्याउन सक्ने गरी तयार पारिएको बताए । यी अवार्डले विश्वव्यापी रुपमा विद्यार्थीको उत्कृष्ट नतिजालाई सम्मान गर्नुका साथै आगामी दिनमा उनीहरूको पढाइ र करिअरका लागि चाहिने आत्मविश्वास र सीपलाई उजागर गर्ने उनको भनाइ छ । ब्रिटिस काउन्सिल नेपालकी परीक्षासम्बन्धी राष्ट्रिय निर्देशक प्रतिष्ठा थापा रायमाझीले नेपालभरका विद्यार्थीको प्रतिबद्धता, अनुशासन र शैक्षिक उपलब्धि उनीहरूले प्राप्त गरेका उत्कृष्ट नतिजाहरूमा प्रतिविम्बित भएको बताइन् ।