काठमाडौँ । नेपाली काँग्रेसले कुनै समय नेपाली काँग्रेसले उर्वरभूमि मानेको मधेशबाट प्रतिनिधिसभाको निर्वाचनका लागि भिजन १० मा आधारित प्रतिज्ञापत्र सार्वजनिक गरेको छ ।नेपालको ऐतिहासिक सांस्कृतिक नगरी जनकपुरधाममा बुधबार विशेष कार्यक्रमको आयोजना गरी काँग्रेसले प्रतिज्ञापत्र सार्वजनिक गरेको हो । काँग्रेसले सार्वजानिक गरेको प्रतिज्ञापत्रमा सरल शब्दावलीमा ‘भिजन १०’ को सार–संक्षेपमा प्रस्तुत गरिएको छ । पार्टी सभापति गगन थापा, उपसभापति एवं निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्मा, उपसभापति पुष्पा भुसाल, मधेस प्रदेशका सभापतिसहित नेताहरूको उपस्थितिमा प्रतिज्ञापत्र सार्वजनिक गरिएको हो । काँग्रेसले प्रतिज्ञापत्रलाई ‘काँग्रेस टु प्वाइन्ट जिरो’को जगका रूपमा व्याख्या गरेको छ । पुनरुत्थानमा सफल सुरुआत गरेको काँग्रेसले नै जनताबाट इच्छित भविष्य साकार पार्न संकल्प लिएको छ । काँग्रेसको प्रतिज्ञापत्रमा सम्मानित भएर बाँच्न पाउने नेपाल, सपना देख्न सक्ने नेपाल, सम्पत्ति र रोजगारी सृजनालाई प्रोत्साहन गर्ने नेपाल, पेटभरि खुवाउने, देशलाई चिनाउने किसानको नेपाल, ओखती र ओत दिने नेपाल, छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल, बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल, मौलिकतमा गर्व गर्ने आधुनिक नेपाल, विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल र समुन्नतिमा लम्किने नेपाल बनाउने उल्लेख छ । जनकपुरमा ‘प्रतिज्ञा पत्र’ सार्वजनिक गर्दै सभापति गगन थापाले नेपाली काँग्रेसले देशको नेतृत्व लिएर कुशासनलाई हटाउने प्रतिज्ञा गरेका छन् । मधेसबाट काँग्रेसले देश बदल्ने साहस लिएको उनले बताए । देशलाई नेतृत्व गर्ने शिक्षा, स्वास्थ्य र विज्ञान र सूचना प्रविधिको क्षेत्र भएकाले मधेसले अब यस परिवर्तन बोक्नुपर्ने बताए । मधेसलाई ज्ञानको केन्द्र बनाउन काँग्रेस मधेस झरेको उनको भनाइ छ । उनले संघीयतालाई बलियो बनाउनुपर्नेमा पनि जोड दिए । त्यसका लागि आफू योजना र संकल्पसहित मधेसमा आउको उनले बताए । ‘संघीयतालाई जोगाउनुपर्ने छ, कामकाजी बनाउनुपर्ने छ । थापाले भने, ‘मधेस प्रदेशलाई केन्द्रमा राखेर नेपालको संघीयतामा देखिएका समस्या हल गरेर नेपाललाई संघीयता किन चाहिन्छ भनेर प्रमाणित गर्छौँ ।’काँग्रेसका उपसभापति विश्ववप्रकाश शर्माले पुरानै ढंगले चलेर नयाँ देश बनाउन नसकिने बताए । उनले काँग्रेस नेतृत्वमा मात्रै देशको आर्थिक विकास हुने बताए । पुरानै ढंगले चलेर नयाँ परिणाम दिन सकिँदैन । शर्माले भने, ‘नयाँ संसद्, नयाँ सरकार बनाउने मात्रै होइन, हामी बदलिनुपर्छ । नविन ढंगले अघि बढ्न मधेसमा आएका छौँ । हामी नयाँ भएर आएका छौँ ।’ काँग्रेसका नेता विमिलेन्द्र निधिले संघीयता जोगाउन काँग्रेसलाई मतदान गर्न मधेसका जनतालाई आग्रह गरे । ‘यो सामान्य चुनाव होइन । संविधान खतरामा छ, लोकतन्त्र खतरामा छ । संघीयता खतरामा छ । त्यसलाई जोगाउन काँग्रेसलाई जिताउनुपर्छ,’ निधिले भने । उनले आगामी निर्वाचनबाट गगन थापाको नेतृत्वमा सरकार बनाउनुपर्ने बताए । प्रतिज्ञापत्र सार्वजनिक भएका सन्दर्भमा काँग्रेसले बुधबार नै पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी उल्लेखित भिजन १० का बुँदाका बारेमा जानकारी गराएको छ । काँग्रेसले आमनिर्वाचनबाट बहुमत सहितको लोकतान्त्रिक र लोकहितमा समर्पित सरकार बनाउने लक्ष्य लिएको जनाएको छ । काँग्रेसले यसपटक जिम्मेवारी, दृष्टिकोण र सड्ढल्पको आत्मबोधबाट नेपाल संसारकै एक उत्कृष्ट देश बन्न सक्ने भावना, कार्ययोजना र आधारसहितको प्रतिज्ञापत्र प्रस्तुत गरेको पार्टी प्रवक्ता देवराज चालिसेले बताए । प्रतिज्ञापत्रका हरेक अक्षरका प्रष्ट अर्थ रहेको उनले बताए । प्रतिज्ञापत्रमा उल्लेखित योजना कार्यान्वयनका आधारमा कार्यसम्पादन मूल्याड्ढन हुनुपर्ने काँग्रेसको चाहना रहेको उनको भनाइ छ । सम्मानित भएर बाँच्न पाउने नेपालदेखि समुन्नतिमा लम्कने नेपालसम्मको योजना काँग्रेसले अघि सारेको छ । प्रतिज्ञापत्र केबल देखाउन मात्रै नभई कार्यान्वयन गरेर समुन्नत नेपाल सम्मानित नेपालीको नारालाई व्यवहारमा ल्याउने प्रतिबद्धता भएको काँग्रेसको दाबी छ । नेपाली काँग्रेसले चाहेको यतिमात्र छ कि आगामी दिनमा आममतदाता र जनताले प्रतिज्ञापत्रको कार्यान्वयनका आधारमा पार्टी, तमाम नेता र कार्यकर्ताको कार्यसम्पादन मूल्याड्ढन गर्नुहुनेछ । काँग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘काँग्रेस आफ्नो प्रतिज्ञा पूरा गर्न, अमूक र अर्मूत कारण देखाएर जिम्मेवारीबाट भाग्ने छैन, जिम्मेवारीबाट पन्छदैनौँ ।’