दाङ — नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले दाङको तुल्सीपुरमा आफ्नो चुनाव चिन्ह ‘सूर्य’ अङ्कित झण्डा जलाइएको घटनाप्रति कडा आपत्ति जनाएको छ। एमालेले उक्त घटनालाई लोकतन्त्र, संविधान र निर्वाचन आचारसंहिताविरुद्धको गम्भीर उल्लंघनको रूपमा व्याख्या गर्दै संलग्नमाथि तत्काल कारबाहीको माग गरेको छ।
एमालेका केन्द्रीय प्रचार संयोजक मीनबहादुर शाही ले शुक्रबार जारी गरेको विज्ञप्तिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)_ का कार्यकर्ताले बिहीबार राति तुल्सीपुरमा ‘सूर्य’ अंकित झण्डा जलाएको आरोप लगाइएको छ। साथै, पार्टी अध्यक्ष केपी शर्मा ओली विरुद्ध अपाच्य शब्द प्रयोग गरी नाराबाजी गरिएको तथा महासचिव शंकर पोखरेल को गृहनगरमै यस्तो घटना भएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा एमालेले दलीय प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्नु लोकतन्त्रको सुन्दर पक्ष भए पनि प्रतिस्पर्धाकै नाममा स्थापित राष्ट्रिय शक्तिको आस्थामाथि चोट पुर्याउने गतिविधि लोकतान्त्रिक मर्यादाभित्र नपर्ने टिप्पणी गरेको छ। “रास्वपाका कार्यकर्ताको यो हर्कत मुलुकलाई चरम अस्थिरताको चक्रव्यूहमा फसाउने र चुनावी द्वन्द्वलाई आमन्त्रण गर्ने उदाहरण हो,” विज्ञप्तिमा भनिएको छ।
एमालेले आफू अनुशासित पार्टी भएकाले घटनाबाट उत्तेजित नभएको जनाउँदै संयमता कमजोरी नभएको स्पष्ट पारेको छ। कानुनी शासनको सम्मान गर्ने पार्टी भएको दाबी गर्दै झण्डा जलाउने कार्यमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी दायरामा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको जनाएको छ।
त्यस्तै, घटनाले सरकार भयरहित, निष्पक्ष र निर्भिक ढंगले मतदानको वातावरण बनाउन असफल भइरहेको भन्ने प्रश्न उठाएको एमालेको तर्क छ। निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन भएको भन्दै एमालेले निर्वाचन आयोगसँग सम्बन्धित दलसँग तत्काल स्पष्टीकरण लिन र जवाफ सार्वजनिक गर्न माग गरेको छ। यदि दोषीमाथि कानुनी कारबाही नगरिए त्यसबाट उत्पन्न हुने परिस्थिति र घटनाको जिम्मेवारी सरकार, निर्वाचन आयोग तथा सम्बन्धित दलले लिनुपर्ने चेतावनी पनि विज्ञप्तिमार्फत दिइएको छ।