काठमाडौं — आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म ४१ वटा राजनीतिक दलले आफ्नो घोषणापत्र निर्वाचन आयोगमा बुझाएका छन्।निर्वाचन आयोग नेपाल ले शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएको हो। आयोगले फागुन ४ गतेभित्र घोषणापत्र बुझाउन आग्रह गरे पनि दलहरूले अझै घोषणापत्र बुझाउने क्रम जारी रहेको जनाएको छ। आयोगकी सहायक प्रवक्ता सीता पुन का अनुसार उम्मेदवारहरूले भने जिल्ला तहका निर्वाचन कार्यालयमार्फत घोषणापत्र बुझाउन सक्ने व्यवस्था रहेकाले पूर्ण विवरण आउन बाँकी छ।उनले प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रका सबै मतपत्र छपाइ सम्पन्न भई प्याकिङको काम सकिएको जानकारी दिइन्। समानुपातिकतर्फका मतपत्र भने सुदूरपश्चिम, कर्णाली र कोसी प्रदेशमा ढुवानी गरिसकिएको छ। निर्वाचन तयारी अन्तर्गत आयोगका स्वयंसेवकहरूले छापिएका नमुना मतपत्र प्रयोग गरी मतदातालाई मतदान शिक्षा प्रदान गरिरहेको पनि आयोगले जनाएको छ।यसैबीच, निर्वाचन प्रचारप्रसारका लागि उम्मेदवारले अनिवार्य रूपमा बैंक खाता खोल्नुपर्ने प्रावधानअनुसार हालसम्म सात राजनीतिक दल र ८ हजार ८६७ उम्मेदवारले निर्वाचन बैंक खाता खोलेको रिपोर्ट प्राप्त भएको सहायक प्रवक्ता पुनले जानकारी दिइन्। आयोगले निर्वाचन तयारी तीव्र पारिएको र तोकिएको समयमै सम्पूर्ण व्यवस्थापन सम्पन्न गरिने जनाएको छ।