काठमाडौं,रौतहटको गौरमा दुई समुदायबीच उत्पन्न विवाद उग्र बन्दै गएपछि केन्द्रीय सुरक्षा समितिको बैठक जारी रहेको छ। गृह मन्त्रालयमा जारी बैठकमा गौरमा विकसित तनावपूर्ण अवस्थाबारे विस्तृत छलफल भइरहेको छ।घटनापछि परिस्थितिको समीक्षा र नियन्त्रणका उपाय तय गर्न मन्त्रालयमा सुरक्षा समितिको आकस्मिक बैठक बोलाइएको हो। गौरमा दुई समुदायबीच भएको सामान्य भनाभन तीन दिनमै उग्र साम्प्रदायिक दंगामा परिणत भएको थियो। स्थिति नियन्त्रणबाहिर जाने संकेत देखिएपछि स्थानीय प्रशासनले कर्फ्यु लागू गरेको छ। सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ भने प्रभावित क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ। प्रशासनले सर्वसाधारणलाई संयमता अपनाउन तथा अफवाहमा विश्वास नगर्न आग्रह गरेको छ। सुरक्षा निकायले संवेदनशील क्षेत्रमा निगरानी बढाउँदै स्थिति सामान्य बनाउन प्रयास जारी राखेको जनाएको छ।