काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० जनाको हत्या गर्ने धम्की दिने प्रकाश पाठकले हाल कारागारमा रहेका प्रदिप अधिकारीको पोल खोलेका छन् ।
हाल काठमाडौं प्रहरी हिरासतमा रहेका उग्रवादी संगठन नेपालका संयोजक बताउने पाठकले अधिकारीकै योजनामा प्रमुख आयुक्त राईको हत्या गर्ने धम्की दिएको बयान दिएका हुन् ।
कारागारमा रहेका अधिकारी र हिरासतमा रहेका पाठकबीच केही महिनाअघि सिंगापुरमा भेट भएको समेत खुलेको छ । विशेषगरी आयोगले नलिञ्चोकस्थित हेलिपोर्ट निर्माणका क्रममा भएको भ्रष्टाचारको आरोपपत्र दायर गर्ने तयारी गरेको सूचना पाएका अधिकारीले राईलाई हत्या गर्ने धम्की दिने गिरोहसँग सम्बन्ध बनाएका थिए ।
अधिकारीले सिंगापुरमा भेटेको र केही रकम समेत पाठकलाई दिएको खुलेको छ । अधिकारी र पाठकबीचको सम्बन्धबारे काठमाडौं प्रहरीले अनुसन्धान गरिरहेको छ ।
अनुसन्धानका कतिपय विषय बाहिर ल्याउन नमिल्ने भन्दै कुनै पनि अधिकारीले मुख खोल्दैनन् । तर, आर्थिक दैनिकको सम्पर्कमा आएका समाचार स्रोतका अनुसार अधिकारीले पाठक र कुनै समय नयाँ बजार क्षेत्रमा दिनेश अधिकारी ‘चरी’को समूहमा लागेर गुण्डागर्दी गर्दै आएका नामुद बिचौलिया नविन बस्नेतलाई समेत परिचालन गरेका थिए । बस्नेत र पाठक दुवै जना चरी समूहमै बसेर गुण्डागर्दीमा समेत लागेका पात्र हुन् ।
पक्राउ परेका पाठकले अधिकारीको सुपारीमा राईको हत्या गर्ने धम्की दिएका थिए भने नविनले पोखरासहित नलिञ्चोक हेलिपोर्टको भ्रष्टाचारबारे खबर लेख्ने सञ्चारमाध्यमको पत्रकारलाई हत्या गर्ने धम्की दिएका थिए । नविनले केही पत्रकारलाई सफाया गर्नुपर्छ भन्दै प्रदिपलाई सूची नै बुझाएका थिए ।
प्रदिपकै योजनामा अनुसन्धानमूलक पत्रकारिता गरिरहेका केही व्यक्तिले राज्यबाट सुरक्षा समेत माग्नु परेको थियो । ईजीएनबाट धम्कीपूर्ण पत्र आएको केही समयमै प्रहरीले काठमाडौंका विभिन्न स्थाबाट पाठक समूहका कार्यकर्तालाई पक्राउ गरेको थियो । पक्राउ परेका तोरणबहादुर थापाले प्रदिप अधिकारीसँग सम्बन्धबारे बयान दिएपछि अख्तियारले प्रदिप अधिकारीलाई पक्राउ गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इतिहासमा आरोप पत्र दायर गर्नुअघि नै पक्राउ गरिएको घटना यो पहिलो हो ।
अधिकारीलाई अख्तियारको हिरासतमा राखेर बयान लिएपछि पोखरा विमानस्थलको मुद्दा दायर हुँदा अदालत पेस गरिएको थियो । विशेष अदालतले उनलाई नलिञ्चोक हेलिपोर्ट निर्माणमा १३ करोड रुपैयाँ भ्रष्टाचार गरेको भन्दै थुनामा पठाउन आदेश दिएको छ ।
त्यस्तै अधिकारीले थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा दिएको निवेदनमा समेत अन्तरिम आदेश दिन अदालतले अस्विकार गरेपछि उनी अब लामो समयसम्म कारागारमै रहनेछन् ।