काठमाडौं । युनेस्कोको क्षेत्रीय कार्यालय ब्यांककले २०२५ का एसिया–प्रशान्त सांस्कृतिक सम्पदा संरक्षण पुरस्कार विजेताहरूको घोषणा गरेको छ । यस वर्ष चीन, भारत, जापान, मलेसिया, नेपाल र भानुआटुका गरी ६ देशबाट १० उत्कृष्ट परियोजना पुरस्कृत भएका छन् ।
नेपालका दुई परियोजनाले प्रतिष्ठित अवार्ड अफ मेरिट प्राप्त गरेका छन् । ज्येष्ठ वर्ण महाविहार संरक्षण परियोजना, ललितपुर र लोवो ङिफुक नाम्डोल नोर्बुलिङ गुम्बा संरक्षण परियोजना, मुस्ताङले अवार्ड पाउन सफल भएका हुन् । ज्येष्ठ वर्ण महाविहारको संरक्षण परियोजनाले १७औँ शताब्दीको मध्यतिर स्थापित नेवार बौद्ध सम्पदाको पुनर्जीवनमा महत्वपूर्ण योगदान पुर्याएको छ । निर्णायक मण्डलका अनुसार, २०७२ को भूकम्पअघि नै जीर्ण अवस्थामा पुगेको यस महाविहारको संरक्षणमा अभिलेखीय अनुसन्धान, संरचनात्मक मर्मत, पुरातात्विक प्रभाव मूल्यांकन र विस्तृत संरक्षण योजना समेटिएको समग्र दृष्टिकोण अपनाइएको थियो । ‘यो परियोजनाले महाविहारलाई ‘जीवन्त सम्पदा’का रूपमा सुरक्षित राख्न सफल भएको छ । संरक्षण कार्य जारी रहँदा पनि दैनिक धार्मिक अनुष्ठान निर्वाध रूपमा सञ्चालन हुनु र मुख्य पवित्र तत्वहरूको जगेर्ना गरिनुले यसलाई सामुदायिक आस्थाको केन्द्रका रूपमा कायम राखेको छ’, निर्णायक मण्डलको प्रशंसा पत्रमा भनिएको छ । यस परियोजनाले दीर्घकालीन कार्यक्षमता र उत्थानशीलता सुनिश्चित गर्न स्थानीय समुदायको सक्रिय सहभागितालाई प्राथमिकता दिएको थियो ।
यस्तै लोवो ङिफुक नाम्डोल नोर्बुलिङ गुम्बा संरक्षण परियोजना, मुस्ताङले दिगो विकासका लागि विशेष मान्यतासहितको अवार्ड अफ मेरिट पाएको हो । यस परियोजनाले ‘अवार्ड अफ मेरिट विथ स्पेसल रिकग्निसन फर सस्टेनेबल डेभलपमेन्ट’ प्राप्त गरेको छ । करिब पाँच सय वर्ष पुरानो यो गुम्बा तिब्बती पठारको विशेषता बोकेको संवेदनशील माटोको वास्तुकलाको उत्कृष्ट उदाहरण हो, जुन जलवायु परिवर्तनका कारण बढ्दो वर्षाको जोखिममा परेको छ । ‘स्थानीय लामा÷भिक्षु र कलाकारहरूको प्रत्यक्ष संलग्नतामा गरिएको संरक्षणले परम्परागत निर्माण ज्ञानलाई केन्द्रमा राख्दै आधुनिक भूकम्प–प्रतिरोधी प्रविधिसँग संयोजन गरेको छ । यसले स्थलको आध्यात्मिक महत्त्वलाई सम्मान गर्दै दीर्घकालीन उत्थानशीलता सुदृढ बनाएको छ’, निर्णायक मण्डलले उल्लेख गरेको छ । भूकम्पपछिको चुनौतीपूर्ण परिस्थितिमा कार्यान्वयन गरिएको यस परियोजनाले स्थानीय समुदायको अपनत्व, सीप हस्तान्तरण र मर्मत–सम्भार संस्कृतिलाई प्रोत्साहन गरेको निर्णायक मण्डलको निष्कर्ष छ ।
यस वर्षको पुरस्कारले एसिया–प्रशान्त क्षेत्रमा सांस्कृतिक सम्पदाको संरक्षण, पुनर्जीवन र दिगो विकासबीचको सन्तुलनलाई जोड दिएको छ । नेपालको उपलब्धिले परम्परागत वास्तुकला, सामुदायिक आस्था र आधुनिक संरक्षण प्रविधिबीचको सहकार्य अन्तर्राष्ट्रिय स्तरमा उदाहरणीय बन्न सक्ने सन्देश दिएको छ ।