काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र संस्कृति तथा पर्यटन मन्त्रालय, बागमती प्रदेशको आयोजनामा काठमाडौंमा ‘बागमती प्रादेशिक ललितकला प्रदर्शनी तथा सम्मेलन २०८२’ आयोजना गरिएको छ ।
बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले प्रदर्शनीको शुक्रबार उद्घाटन गरेका हुन् । कार्यक्रमममा उनले कला, संस्कृति कहिल्यै नमर्ने बताउँदै नेपालको पहिचान दिलाउन र अर्थतन्त्रमा कला क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताए । प्रतिष्ठानमा बन्दै गरेको कलाकार अरनिकोको मूर्ति तथा पाँचपोखरी थाङ्पालमा निर्माणाधीन ८४ फिट अग्लो बुद्धमूर्तिबारे चर्चा गर्दै उनले यस विषयमा बागमती प्रदेश सरकारका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाए । कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले समाजको ‘सफ्टपावर’ भनेको कलाकार भएकाले यसको सुरुआत ललितकलाले गरेको बताए । आगामी दिनमा सामाजिक रूपान्तरणमा ललितकलाको अभियानलाई अझ सशक्त बनाउँदै नेपाली माटो चिनाउने कलाको विकास, खोज, अनुसन्धानका क्षेत्रमा विभिन्न कार्यहरू गर्दै जानुपर्ने उनको भनाइ थियो ।
प्रतिष्ठानका उपकुलपति तथा बागमती प्रदेश समन्वय समिति संयोजक लालकाजी लामाले प्रादेशिक प्रदर्शनी सुरुआत गरेको प्रसङ्ग उल्लेख गर्दै प्रतिष्ठानले कलाको विकासका लागि जरामा गोडमेल गर्नुका साथै स्थानीय भूगोलमै जोडिएर काम गर्ने प्रयत्न गरेको बताए । उनले ललितकलाको प्रवद्र्धन र विकासमा प्रतिष्ठानले सबैसँग सहकार्य गर्दै अघि बढेको बताए । प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले स्रष्टा युगको द्रष्टासमेत भएको बताउँदै आगामी दिनको ललितकला इतिहास लेख्ने अहिलेको पुस्ता भएको बताए । संस्कृति तथा पर्यटन मन्त्रालय, बागमती प्रदेशका सचिव दीपेन्द्र सुवेदीले देशको पहिचान नै कला–संस्कृतिसँग जोडिएको बताए । उनले बागमती प्रदेश प्रज्ञा–प्रतिष्ठान गठनको कानुनी पाटोको काम भइरहेको बताउँदै यसले छिट्टै सार्थकता पाउने जानकारी दिए । सुवेदीले कला अमूल्य हुने भएकाले यसको सम्मान गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा सिद्धिरत्न शाक्य (परम्परागत मूर्तिकला), रामसुन्दर ख्याजु (परम्परागत चित्रकला पौभा), सरिता चित्रकार (लोककला), विश्वम्भर लामिछाने (मूर्तिकला), सिन्धुली कला घर (सिन्धुली), वल्र्ड आर्टलिंक (रत्ननगर, चितवन), ई आट्र्स नेपाल (ललितपुर)लाई सम्मान गरिएको थियो । प्रदर्शनीमा बागमती प्रदेशका कलाकारले सृजना गर्नुभएका परम्परागत चित्रकला, समसामयिक चित्रकला, समसामयिक मूर्तिकला, परम्परागत मूर्तिकला, शिल्प–हस्तकला, वास्तुकला तथा लोककला, बहुआयामिक तथा अन्य सृजनात्मक कला विधाका दुई सय ३० भन्दा बढी कलाकृति राखिएका छन् । नेपाल पर्यटन बोर्ड कला प्रवद्र्धक रहेको प्रदर्शनी यही फागुन १२ गतेसम्म सञ्चान हुने जनाइएको छ ।