नयाँदिल्ली । महत्वपूर्ण खनिज आपूर्ति शृंखलामा नयाँ आधार निर्माण गर्ने उद्देश्यसहित भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भा शनिबार नयाँदिल्लीमा भेटवार्ता गर्दै छन् । दुर्लभ खनिज तत्वमा चीनको प्रभाव घटाउने रणनीतिका बीच दुई देशबीच खनिज सहकार्यलाई प्राथमिकता दिइएको हो ।
ब्राजिलसँग विश्वको दोस्रो ठूलो दुर्लभ पृथ्वी (खनिज) भण्डार रहेको छ । यी तत्वहरू विद्युतीय सवारी, सौर्य प्यानल, स्मार्टफोन, जेट इन्जिनदेखि निर्देशित मिसाइलसम्मका प्रविधिमा प्रयोग हुन्छन् । चीनमाथिको निर्भरता घटाउन भारतले नयाँ आपूर्तिकर्ता खोज्दै घरेलु उत्पादन र पुनर्चक्रण विस्तार गरिरहेको छ । यसै सन्दर्भमा दुवै नेताबीच महत्त्वपूर्ण खनिजसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने अपेक्षा गरिएको छ ।
एक दर्जनभन्दा बढी मन्त्री र व्यवसायिक प्रतिनिधिसहित लुला बुधबार नयाँदिल्लीमा विश्वव्यापी शिखर सम्मेलनका लागि आइपुगेका थिए । शनिबारको भेटमा व्यापार विस्तार, आपूर्ति शृंखला विविधीकरण र प्रविधिगत सहकार्यबारे छलफल हुने अधिकारीहरूले जनाएका छन् । सन् २०२५ मा १५ अर्ब डलर बराबरको द्विपक्षीय व्यापारसहित भारत ब्राजिलको निर्यातका लागि दशौँ ठूलो बजार बनेको छ । दुवै देशले सन् २०३० सम्म व्यापार २० अर्ब डलर पुर्याउने लक्ष्य लिएका छन् । ल्याटिन अमेरिकामा ब्राजिल भारतको सबैभन्दा ठूलो साझेदार हो । भारतमा ब्राजिलका प्रमुख निर्यात वस्तुमा चिनी, कच्चा तेल, वनस्पति तेल, कपास र फलामको अयस्क पर्छन् । तीमध्ये फलामको माग भारतको तीव्र पूर्वाधार विस्तार र औद्योगिक वृद्धिले बढाएको छ ।
दिल्लीस्थित काउन्सिल अन एनर्जी, इन्भाइरनमेन्ट एन्ड वाटरका विज्ञ ऋषभ जैनका अनुसार ब्राजिलसँगको सहकार्यले संयुक्त राज्य अमेरिका, फ्रान्स र युरोपेली संघ (ईयू) सँग भारतले अघि बढाएको आपूर्ति शृंखला पहललाई पूरक बनाउनेछ । उनले विश्वव्यापी ग्लोबल साउथका गठबन्धनहरू स्थलगत स्रोतको पहुँच सुरक्षित गर्न र व्यापारका उदीयमान नियम आकार दिन महत्वपूर्ण हुने बताएका छन् ।