काठमाडौं । बैंकिङ क्षेत्रको गैरबैकिङ सम्पत्ति (एनपीए)मा बढ्दो निष्क्रिय कर्जा (एनपीएल)को प्रभाव देखिएको छ । बैंक तथा फाइनान्स कम्पनीहरूको निक्षेप तथा कर्जा प्रवाहसम्बन्धी प्रतिवेदनले बैंकिङ क्षेत्रमा एनपीएल बढ्दा एनपीए अनुपात पनि बढेको देखिएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पुससम्म बैंकिङ क्षेत्रमा औसत पाँच दशमलव ४२ प्रतिशत कर्जा निष्क्रिय छ । यो अवधिमा गैरबैंकिङ सम्पत्ति ५१ अर्ब २८ करोड ५० लाख रुपैयाँबराबर छ । यो सम्पत्ति गत आवको सोही अवधिको तुलनामा १० अर्ब ५२ करोड ९० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा औसतमा चार दशमलव ९२ प्रतिशत कर्जा निष्क्रिय थियो भने ४० अर्ब ७५ करोड ६० लाख रुपैयाँबराबरको मात्र गैरबैंकिङ सम्पत्ति थियो । अर्थात् औसत शून्य दशमलव पाँच प्रतिशतले निष्क्रिय कर्जा बढ्दा कुल गैरबैंकिङ सम्पत्तिमा १० अर्ब ५२ करोड ९० लाख थपिन पुगेको छ ।
वाणिज्य बैंकहरूमा मात्र चालू आवको पुस मसान्तसम्ममा औसतमा पाँच दशमलव २६ प्रतिशत कर्जा निष्क्रिय हुँदा ४३ अर्ब ५७ करोड ६० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको छ । यो सम्पत्ति गत आवको सोही अवधिको तुलनामा आठ अर्ब ७१ करोड रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूमा औसतमा चार दशमलव ७३ प्र्रतिशत कर्जा निष्क्रिय हुँदा ३४ अर्ब ८६ करोड ६० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको थियो । यसको अर्थात् वाणिज्य बैंकहरूमा पछिल्लो समय औसतमा शून्य दशमलव ५३ प्रतिशतका दरले निष्क्रिय कर्जा बढ्दा कुल गैरबैंकिङ सम्पत्ति आठ अर्ब ७१ करोड रुपैयाँले बढेको देखिएको छ । विकास बैंकहरूमा पनि पछिल्लो समय गैरबैंकिङ सम्पत्ति बढेको छ ।
राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो छ महिनाको अवधिको सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरूमा औसतमा पाँच दशमलव ७५ प्रतिशत कर्जा निष्क्रिय हुँदा चार अर्ब ३५ करोड ७६ लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको छ । गत आवको सोही अवधिमा विकास बैंकहरूमा औसमा पाँच दशमलव ११ प्रतिशत कर्जा निष्क्रिय हुँदा तीन अर्ब ६० करोड २० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको थियो । सोअनुसार विकास बैंकहरूमा औसतमा शून्य दशमलव ६४ प्रतिशतले निष्क्रिय कर्जा बढ्दा कुल गैरबैंकिङ सम्पत्ति ९७ करोड २० लाख रुपैयाँले बढेको देखिएको छ ।
सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीहरूमा पनि चालू आवको पुस मसान्तसम्ममा औसतमा ११ दशमलव ८६ प्रतिशत कर्जा निष्क्रिय देखिँदा तीन अर्ब १३ करोड ५० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको छ । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरूमा १२ दशमलव ८५ प्रतिशत कर्जा निष्क्रिय देखिँदा दुई अर्ब २८ करोड ८० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको थियो । जसअनुसार फाइनान्स कम्पनीहरूमा औसतमा शून्य दशमलव ९९ प्रतिशतका दरले निष्क्रिय कर्जा बढ्दा कुल गैरबैंकिङ सम्पत्ति ८४ करोड ७० लाख रुपैयाँले बढेको देखिएको छ ।