काठमाडौं । केबीए ग्लोबल प्रालिको आयोजनामा गोल्डेन गेट इन्टरनेसनल कलेज केबीए ग्लोबल क्रिकेट क्ल्यास २०२६ आयोजना हुने भएको छ ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइएको हो । प्रतियोगिता फेब्रुअरी २४ र २५ मा वान डे क्रिकेट एकेडेमीमा हुने प्रतियोगितामा १२ वटा अन्तरकलेज टिमहरूको सहभागिता रहनेछ । लिभरपुल कलेज, सीसीआरसी कलेज, पेन्टागन कलेज, नासा कलेज, गोल्डेन गेट इन्टरनेसनल कलेज, रिलायान्स कलेज, ग्रामर कलेज, हिमालयन कलेज, मनास्लु कलेज, पिन्कल कलेज, व्रिजवाटर कलेज र चाणक्य कलेज प्रतियोगितामा सहभागी हुने आयोजकले जनाएको छ ।
केबीए ग्लोबलका बिजनेस डेभलपमेन्ट म्यानेजर विनोद दाहाल उपाध्यायले प्रतियोगिता युवाहरूका लागि खेल, नेतृत्व र अनुशासन विकास गर्ने साझा मञ्च भएको बताए । प्रतियोगिताको मुख्य प्रायोजक गोल्डेन गेट इन्टरनेसनल कलेजका निर्देशक रोहित पौडेलले शिक्षा र खेलकुदबीचको सहकार्यले विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । पत्रकार सम्मेलनमा प्रतियोगिताको आधिकारिक ट्रफी पनि सार्वजनिक गरिएको थियो ।