भैरहवा (रूपन्देही) । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले रूपन्देहीको भैरहवामा सोमबार आयोजित पत्रकार सम्मेलनमा देशको वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि संविधान संशोधन आवश्यक रहेको बताएका छन् ।
वर्तमान संविधानले मधेशी, जनजाति, दलित तथा उत्पीडित समुदायका मुद्दालाई पूर्ण रूपमा सम्बोधन गर्न नसकेको धारणा राख्र्दै अध्यक्ष यादवले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि पहिचानका आधारमा प्रदेशको सीमाङ्कन गरिनुपर्ने बताए ।
वर्तमान प्रणालीले राजनीतिक अस्थिरता निम्त्याएको आरोप लगाउँदै अध्यक्ष यादवले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था र पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवश्यक रहेको बताए ।
सो अवसरमा अध्यक्ष यादवले जनता समाजवादी पार्टीले सुरुदेखि नै मधेशको समस्याका बारेमा आवाज उठाउँदै आएको र सबै समस्या बुझेको पार्टी भएको बताए । उनले गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउँदै कूटनीतिक तथा प्राविधिक पहल तीव्र बनाउन आग्रह गरे ।