दमौली (तनहुँ) । पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको ग२ख १४२१ नम्बरको बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैँसीगौडामा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये तनहुँका तीन जना रहेका छन् ।
मृतक सबैको सनाखत भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा दुई दर्जन बढी घाइते छन् । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । मृतक १९ मध्ये तीन जना विदेशी नागरिक छन् । २४ वर्षका बेलायती नागरिक स्टेवर्थ डोमिनिक इथान, भारतको उत्तर प्रदेशको बसहरि बहराइच घर भएका ३२ वर्षका मनिष सुक्ला र चिनियाँ नागरिक ४० वर्षकी झ्याङ चुनचुनको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । सोमबार बिहानसम्म ९ जनाको मात्रै सनाखत भएकोमा बाँकीको दिउँसो आफन्तले पहिचान गरेका थिए ।
मृतकहरूमा बेलायती नागरिक २४ वर्षीय स्टेवार्ट डोमिनिक एथान, कास्कीका विवेक बास्तोला, स्याङ्जा घर भई हाल काठमाडौं बस्ने चन्द्रबहादुर कुँवर, तनहुँका ओमकुमार मल्ल, धादिङका, इन्जिनियर ठकुरी, तनहुँकी विष्णु माया, काठमाडौंका लोप्साङ गोले, तनहुँका हरिप्रसाद सिग्देल, पाल्पाका नवीन्द्र श्रेष्ठ, तनहुँका रुद्रप्रसाद ढकाल, तनहुँकै अर्चना पौडेल, कास्कीकी अञ्जली क्षेत्री, कास्कीकै रोहित नेपाली, स्याङ्जाका धनश्याम सुवेदी, काठमाडौंकी अनिशा महर्जन, मोरङकी हिरा चौधरी, कास्कीका सुजित नेपाली छन् ।
त्यसैगरी भारत, उत्तर प्रदेश प्रान्त, बसहरि बहराइच घर भएका मनिष सुक्लाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । झाङ चुनचु नाम भएकी ४० वर्षीया चिनियाँ नागरिकको समेत मृत्यु भएको छ ।