काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले निर्माण व्यवसायीलाई रुखमा बाँधेर काममा लगाउने भनेर दिएको अभिव्यक्तिमा आपत्ति जनाएको छ ।
सोमबार महासंघ सचिवालयमा पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष रवि सिंहले भौतिक पूर्वाधारको क्षेत्रमा क्रियाशीलहरूको मानमर्दन हुनेगरी भएको बालेन्द्र शाहबाट सार्वजनिक अभिव्यक्ति आपत्तिजनक रहेको बताए । अध्यक्ष सिंहले सस्तो लोकप्रियताका लागि शाहबाट व्यक्त धारणा निर्वाचन आचारसंहिताविपरीत असभ्य सँगसँगै अत्यन्त उत्तजेक समेत रहेको बताए ।
भावी प्रधानमन्त्रीका रूपमा समेत प्रस्तुत गरिएका र प्राविधिक व्यक्ति (इन्जिनियर)को पृष्ठभूमिका नेताले निर्माण कार्यहरूमा भइरहेका ढिलाइका विषयमा वास्तविक सत्यतथ्य बुझी समाधानको बाटो पहिल्याउनुपर्नेमा त्यस किसिमको अमर्यादित अभिव्यक्ति दिनु अराजक शैली भएको अध्यक्ष सिंहको भनाइ छ । आफ्नो अभिव्यक्तिप्रति अविलम्ब सार्वजनिकरूपमा आत्मालोचना गर्न समेत उनले आग्रह गरे । महासंघले त्यस किसिमको अमर्यादित र उत्तेजक भाषणबाजीलाई गम्भीररूपमा लिई सोहीअनुसार निर्देशन गरिदिन निर्वाचन आयोगको समेत ध्यानाकर्षण गराएको छ ।
महासंघले निर्वाचनको पूर्वसन्ध्यामा अन्य दलका नेताहरूलाई समेत मुलुकको समग्र आर्थिक प्रगतिमा निर्माण उद्योगले निर्वाह गरिरहेको महत्वपूर्ण भूमिका आत्मसात् गर्दै जिम्मेवारीबोधसहित आफ्ना अभिव्यक्ति प्रस्तुत गर्न अपील गरेको छ । साथै निर्वाचन सम्पन्न भएपश्चात् गठन हुने संसद् एवं मन्त्रिपरिषद्को पहिलो बैठकमै नयाँ शिराबाट पूर्वाधार क्षेत्रको विकास विस्तारका लागि अत्यावश्यक छाता ऐन तर्जुमाको प्रस्ताव गर्न महासंघले अनुरोध गरेको छ । शाहले चुनावी भाषणका क्रममा यही फागुन ६ गते धनगढीमा ‘दुई वर्षमा बन्ने बाटो २० वर्षमा पनि बन्दैन, डेढ वर्षमा बन्नुपर्ने त्यो हो हाम्रो एजेन्डा, रुखमा बाँधेर हुन्छ कि, बाटोमा सुताएर हुन्छ कि, खोरमा जाकेर हुन्छ कि बाटो बन्नु पर्यो भन्ने अभिव्यक्ति दिएका थिए ।